निषेधाज्ञा खुकुलो भएसँगै बढे आन्तरिक पर्यटक



विमल विष्ट, डोटी ।

देशमा निषेधाज्ञा खुकुलो भएसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । जिल्लाको प्रमुख पर्यटकीयस्थलमध्ये एक जोरायल गाउँपालिका–२ बुडर बजार नजिक रहेको छहरा झरनामा हिजोआज पर्यटकको घुइँचो लाग्न थालेको छ । बढ्दो गर्मी छल्न पनि जिल्लाका पर्यटक उक्त झरनामा पुग्ने गरेका छन् ।

यहाँ दैनिक सयौं पर्यटक आएर मनोरञ्जन लिने गरेका स्थानीयको भनाइ छ । कैलाली तथा कञ्चनपुरसहित अन्य सातवटा पहाडी जिल्लाको केन्द्रविन्दुमा रहेको सो झरनामा रमाउन आउने पर्यटकका कारण यहाँको चहलपहल पनि निकै बढेको पाइएको छ । अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्गसँगै जोडिएको उक्त पर्यटकीय क्षेत्रमा आउने पर्यटकका कारण यहाँको चहलपहल तथा व्यापार व्यवसाय बढेको जलादेवी फेन्सी स्टोर बुडरका सञ्चालक लोकबहादुर मल्लले बताउनुभयो । ‘छहरा झरना निकै आनन्द दिने ठाउँ छ, अहिले उक्त झरनामा पानी पनि निकै बढेको छ, त्यही हेर्न पर्यटक आउने गरेका कारण यहाँ चहलपहलका साथै व्यवसाय पनि बढेको हो ।’ –उहाँले भन्नुभयो ।

कैलाली र कञ्चनपुर जिल्लाबाट आउने पर्यटक बिहान आएर दिनभर झरनामा रमाउने र बेलुका फर्कने गरेका छन् भने अन्य जिल्ला बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा, डडेल्धुरा तथा डोटीबाट आउने पर्यटक एक/दुई दिन बस्ने गरेका स्थानीयबासी तथा सञ्चारकर्मी शिवसिंह ओलीले बताउनुभयो । झरनामा रमाइलो गर्दा स्वर्गीय आनन्द आउने भएकाले पनि पछिल्लो समय उक्त झरना पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको उहाँको बुझाइ छ । झरनामा रमाउन आउने पर्यटक नजिकै रहेको छतिवन तालमा डुंगा शयर गर्नेदेखि पौडी खेल्ने गर्दछन् । ‘माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ?’ –वलीले भन्नुभयो ।

छहरा अवलोकन तथा भ्रमणका लागि कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रबाट पर्यटक आउन थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले जानकारी दिनुभयो । उक्त क्षेत्रमा पछिल्लो समय समितिले प्याराग्लाइडिङ र छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था गरेपछि पर्यटक दिनहुँ बढ्न थालेका हुन् । पर्यटक तथा स्थानीयवासीले झरना, प्याराग्लाइडिङ तथा क्यानोइङ गरेको तस्वीर सामाजिक सञ्जालमा राख्नाले पनि यसको प्रचारप्रसार भएको छ । विगतमा खासै नाम नसुनिएको यो झरना अहिले सामाजिक सञ्जालका कारण प्रचारमा आएको बुडरका दानबहादुर कलेलले बताउनुभयो ।

जिल्ला सदरमुकाम सिलगढी तथा कैलालीको अत्तरियाबाट करिब तीन÷चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको समितिले जनाएको छ । अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा होटल थपिँदै छन् । यहाँका होटलले पनि राम्रो व्यवसाय गरिरहेका छन् । गाउँपालिकाले छहरा क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था गरेको भए पनि सडकमा पानी जम्ने हुँदा छहरा पुग्न समस्या भने हुने गरेको छ । ‘भनेकै बेला सडक कालोपत्र गर्न सकिँदैन तर पनि पर्यटकीय क्षेत्रका सडक सुधार तथा विस्तारका लागि गाउँपालिका लागि परेको छ, छिट्टै यहाँका सडक ग्राभेल गरिनेछ ।’ –गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

बाह्य पर्यटक बढेपछि यहाँको आर्थिक अवस्थामा सुधार हुने सम्भावना रहेको बुडर बजारका अर्का व्यवसायी मीनबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो– ‘छहरा झरनाको विकास गरेर देश–विदेशमा चिनाउनका लागि थप प्रयास गर्नुपर्छ, यसका लागि पर्यटन मन्त्रालयले विशेष चासो देखाउनु जरुरी देखिन्छ ।’ बुडरलगायतका बजारमा पछिल्लो समय होटेल तथा चमेनागृहको निर्माण धामधम भइरहेको उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।

छहरा झरनामा पछिल्लो समय जोरायल गाउँपालिका तथा सुदूरपश्चिम प्रदेश सरकारले पनि मन्दिर निर्माण, बाटो निर्माणदेखि झरना छेउमा ट्रस निर्माण गरेका छन् । यहाँको वडा कार्यालयले झरना अवलोकनका लागि पर्यटकलाई निःशुल्क प्रवेश दिने व्यवस्था मिलाएको छ । स्थानीयबासीले छहरा झरनासम्म पुग्ने बाटो पिच गर्न स्थानीय सरकारसँग मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्