मूल्यवृद्धिको मार



सरकारले बारम्बार जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आएको छ । एकै वर्षमा दर्जनौंपटक नागरिकको दैनिक जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनेगरेको छ । नागरिकलाई सहजरूपमा सेवा–सुविधा दिने बाचा गर्ने सरकार पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेर सर्वसाधारणमाथि बोझ थप्दैआएको छ । सरकारले महंँगी घटाउने धेरै घोषणा गरे पनि व्यवहारमा लागू हुन सकिरहेको छैन ।

पछिल्लो मूल्यवृद्धिविरुद्ध राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संघठनले आन्दोलनको शंखघोष गरेका छन् । विपक्षी दलका पाँच विद्यार्थी संगठनले नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएका छन् । विद्यार्थी संगठनले सात बुँदे मागसहित चरणबद्ध आन्दोलनको कार्यक्रम बनाएका छन् । असार २८ गते नेपाल आयल निगमका गाडीहरू चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोलपम्प र ट्यांकर सञ्चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोलपम्प र ट्यांकर बन्द गर्ने निर्णय गरेको जनाइएको छ । यसअघि पाँच विद्यार्थी संगठनले विघटित संसद्को पुनःस्थापना, एसईई र १२ कक्षाको परीक्षामा देखिएको समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको समस्या लगायतको माग गर्दै प्रदर्शन गरेका थिए । नेपाल विद्यार्थी संघलगायतका दलका भातृ संगठनले आयोजना गरेको यस आन्दोलनमा सरकार कसका लागि, जनताका लागि कि सीमित सत्ताको उपभोग गरिहेकाहरूको लागि भन्ने प्रश्न उठाइएको छ । जनताबाट पालिएको सरकारले जनतालाई अनावश्यक बोझ थप्ने निर्णय गर्दैआएको छ । महंँगा चिल्ला गाडी चढ्न वार्षिक अरबौं रुपियाँ खर्च गर्न तयार हुने सरकार जनताको दैनिक जनजीवनसँग जोडिएको मुद्दामा जिम्मेवार बन्न सकिरहेको छैन । अहिले परिस्थिति भिन्न छ । कोभिड–१९ का कारण गरिबी बढ्दै छ । जनता रोजगारी गुमाउँदै छन् । सरकारले रोजगारी सृजना गर्न सकिरहेका छैन । देशको अर्थतन्त्रको अवस्था दिनप्रतिदिन बिग्रदै गएको छ । नागरिकलाई सहजरूपमा सेवा सुविधा दिन्छ भनेर आस गरिएको सरकार नै जनताको दैनिकी चलाउन नसक्ने गरी मूल्यवृद्धि गर्न भनेपछि परेको छैन । देशभित्र रहेको अनियमितता र वेथिति हटाउन ध्यान नदिने, नीतिगत भ्रष्टाचार हटाउन भूमिका नखेल्ने, सेटिङमा आफू सत्तामा रहँदा करोडौं कमाउन तयार हुने तर जनताको जनजीवन सहज बनाउन ध्यान नदिने सरकारले जनताको सेवा गर्छ भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्न जनतामा छ ।

सरकारमा नपुग्दासम्म जनताको मुद्दा उठाउने र सत्तामा पुगेपछि जनता बिर्सने परिपाटी लामो समयदेखि चल्दैआएको छ । सरकारले अहिलेको संकटमा जनतालाई सेवा–सुविधा दिने कार्यक्रम ल्याउनुको सट्टा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर गलत काम गरेको छ । जनताले दुःखमा पर्दा सरकारको भरोसा गरेका हुन्छन् । तर, भरोसा गरेको सरकारबाटै बारम्बार पेट्रोलियम पदार्थमा मात्र होइन, अन्य खाद्यान्न लगायतको वस्तुमा समेत छोटोछोटो समयमा मनलाग्दी ढंगले मूल्यवृद्धि भइरहेको छ । बजारमा हुने अनियमितता हटाउन बजार अनुगमन गर्ने पक्षमा सरकारले ध्यान नै दिन सकेको छैन । यो दुर्भाग्यपूर्ण अवस्था बनेको छ ।

प्रतिक्रिया दिनुहोस्