उन्नत जातको बाख्रा तथा घाँसको विउ वितरण



अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर ६ का ८० परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण गरेको छ । नगरपालिकाका किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले उन्नत जातका बोका, बाख्रा तथा घाँसको विउ वितरण गरेको हो । स्थानीयलाई आय आर्जनमा जोड्ने उदेश्यले बाख्रा बितरण गरेको नगरपालिकाले जनाएको छ । आर्थिक अबस्था कमजोर भएका नागरिकहरुलाई लक्षित गर्दे तीन वर्षे कार्यक्रम अन्तर्गत यस वर्ष वडा नं. ६ मा बाख्रा वितरण गरिएको हो ।

६ नम्बर वडा कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष टिकाराम भूषालले यसबाट किसानहरुलाई आत्मनिर्भर र व्यवसायिक बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषि र पशुको क्षेत्रमा नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको भन्दै त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो । वडाध्यक्ष भूषालले किसानलाई आवश्यक अन्य कुराहरु पनि नगरपालिकाबाट सहयोग गर्ने आश्वासन दिनुभयो । आर्थिक अवस्था व्यक्तिको आर्थिक आयआर्जन बढाउनका लागि बाख्रा वितरण कार्यक्रम उदाहरणीय भएको बताइन् । उनले बाख्रा हुर्काएर आफ्नो आयआर्जन बढाउन बाख्रा लैजानेहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले खरी तथा बोयर जातका बोका वितरण गरिएको जानकारी दिनुभयो । उहाँले उन्नत जातका बोकाबाट नश्ल सुधार गरी व्यवसायिक रुपमा अगाडी बढ्न सहयोग पुग्ने बताउनुभयो । अर्यालले बाख्राका लागि आवश्यक घाँस पनि सँगै वितरण गरी दानाको खपत कम गर्ने लक्ष्य राखिएको बताउनुभयो । सो अवसरमा सुपर नेपियर, मोलाटो, गवाटेमाला, बदामे, राइखनियो लगायतका घाँसका विउ वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्