बद्रीनाथबाट देहरादून आउँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार


काठमाडौँ।

भारतको उत्तराखण्डस्थित बद्रीनाथबाट देहरादूनका लागि उडेको एक हेलिकप्टरदुर्घटनाग्रस्त भएको छ। ट्रान्स भारत एभिएसनको उक्त हेलिकप्टरमा पाइलटसहित ६ जना सवार रहेको बताइएको छ।

उत्तराखण्डको चमोली जिल्लास्थित बद्रीनाथबाट देहरादूनको सहस्त्रधाराका लागि उडान भरेको हेलिकप्टर जोशीमठ उपत्यकामाथि पुगेपछि सम्पर्कविहीन भएको हो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत जोशीमठको चाई गाउँनजिक हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक खबर प्राप्त भएको बताएका छन्। उनले जिल्ला प्रशासन, विपद् व्यवस्थापन विभाग र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) लाई उद्धार कार्यमा खटाइएको जानकारी दिएका छन्।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (यूसीएडीए) ले अक्टोबर ३०, २०२६ मा जारी गरेको विज्ञप्तिअनुसार हेलिकप्टरले दिउँसो १ बजेर १४ मिनेटमा बद्रीनाथबाट उडान भरेको थियो। त्यसपछि जोशीमठ उपत्यकाको आकाशमा उडान गरिरहेका बेला हेलिकप्टरसँगको सम्पर्क टुटेको थियो।

यसअघि सूचना तथा जनसम्पर्क विभागले जोशीमठका उपजिल्ला अधिकारी (एसडीएम) ले दिउँसो २ बजेर २१ मिनेटमा हेलिकप्टर दुर्घटनाग्रस्त अवतरण भएको सूचना प्राप्त गरेको जनाएको थियो।

मुख्यमन्त्री धामीले घटनाप्रति चासो व्यक्त गर्दै गम्भीर घाइतेलाई तत्काल हेलिकप्टरमार्फत उच्चस्तरीय उपचार केन्द्रमा पुर्‍याउने व्यवस्था मिलाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।

यद्यपि, यूसीएडीएको विस्तृत विज्ञप्तिमा हेलिकप्टर उडानका क्रममा सम्पर्कविहीन भएको र त्यसको अवस्थिति हालसम्म पत्ता लाग्न नसकेको उल्लेख छ। त्यसैले हेलिकप्टर दुर्घटनाग्रस्त अवतरण भएको हो वा अन्य कुनै घटना भएको हो भन्नेबारे आधिकारिक रूपमा स्पष्ट भइसकेको छैन।

हाल चमोली जिल्ला प्रशासन र एसडीआरएफको टोली खोज तथा उद्धार कार्यमा जुटिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। -बीबीसी