काठमाडौँ ।
छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ। नदीमा रसायनयुक्त तथा प्रशोधन नगरिएको फोहोर पानी मिसाउने उद्योगमाथि सरकारले कडाइ गरेको छ।
उद्योग विभागले कात्तिक १४ गते उद्योगहरूलाई प्रशोधन नगरेको फोहोर पानी नदीमा नछोड्न निर्देशन दिँदै संयुक्त अनुगमन गर्ने जनाएको छ।
त्यस्तै, कात्तिक १५ गते प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नदी प्रदूषण नियन्त्रणका लागि पाँचबुँदे निर्णय गरेको छ।
निर्णयअनुसार उद्योगहरूले फोहोर पानी प्रशोधन केन्द्र २४ सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेछ। प्रशोधन नगरेको रसायनयुक्त पानी नदीमा मिसाएको पाइए कारबाही गरिनेछ। साथै, साझा प्रशोधन केन्द्र स्थापना, नगरपालिकाको ढल व्यवस्थापन र नदी संरक्षण कोष स्थापना गर्ने प्रक्रिया अघि बढाइने भएको छ।
यसअघि पनि सिर्सिया नदी प्रदूषण गरेको भन्दै १२ उद्योगलाई जनही १० लाख रुपैयाँका दरले कुल १ करोड २० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको थियो।
छठ पर्वमा नदी किनारमा पूजा तथा अर्घ्य दिन आउने श्रद्धालुलाई स्वच्छ वातावरण उपलब्ध गराउने उद्देश्यले सरसफाइ र प्रदूषण नियन्त्रण अभियानलाई तीव्र बनाइएको हो।











प्रतिक्रिया