काठमाडौं ।
गाभी (द भ्याक्सिन एलाइन्स) ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताका अनुसार कूटनीतिक पहलमार्फत नेपालले नियमित खोप कार्यक्रमका लागि उक्त सहयोग प्राप्त गर्ने भएको हो।
यसैगरी, नेपालले फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकमसमेत गाभीले मिनाहा गर्ने भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।
गाभीसँगको संवादबाट सहयोग रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै ऋण मिनाहा प्राप्त हुँदा नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ।
नियमित खोप सेवाको निरन्तरता र प्रभावकारिता कायम राख्न गाभीको सहयोग महत्वपूर्ण हुने विश्वास गरिएको छ।











प्रतिक्रिया