चीनसँगको सिमामा पहिलो पटक एपीएफको बिओपी



किरन धामी, दार्चुला ।

दुई ठूला राष्ट्र चीन र भारतसँग सिमा जोडिएको दार्चुला जिल्लाको चीनसँगको सिमा तिंकरमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापनाका लागी भवन निर्माण भइरहेको छ । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले निर्णय गरे अनुसार चीनसँग सिमा जोडिएको तिंकरमा सशस्त्र प्रहरी बलको बिओपी भवनको निर्माण कार्य आधा जति सकिएको स्रोतले जनाएको छ ।

ब्याँस गाउँपालिका–१ मा पर्ने तिंकरस्थित भञ्सार कार्यालयको जग्गामा बिओपी निर्माण भइरहेको सुरक्षा स्रोतले जनाएको छ । भारत र चीनसँगको सिमामा सशस्त्र प्रहरी बलको बिओपी राख्ने सरकारको नीति अनुरुप उक्त ठाउँमा बिओपी भवन निर्माणको कार्य चलिरहेको छ । बाह्रै महिना सिमामा सुरक्षाकर्मी बस्ने व्यवस्था हुने गरी भवनको निर्माण कार्य भइरहेको स्रोतको दावी छ ।

एक करोड लागतमा निर्माण सम्पन्न हुने उक्त भवनको निर्माण कार्य एलबि कन्सट्रक्सन धनगढीले गरिरहेको छ । तिंकर बिओपी भवन निर्माणका लागी ब्याँस गाउँपालिकाको सुन्सेराबाट हेलिकप्टरले निर्माण सामाग्री ढुवानी गरिरहेको छ । स्राेतका अनुसार मंगलबार ठेकेदारको हेलिकप्टरले बिओपी निर्माणका लागी आवश्यक पर्ने प्यानल सेट र पाइपहरु ढुवानी गरिरहेको छ । ब्याँसको सुन्सेराबाट करिव ६ हजार केजी बिओपीको निर्माण सामाग्री हेलिकप्टरले ढुवानी गर्ने जनाइएको छ ।

सशस्त्र प्रहरीले भारतसँग सिमा जोडिएका लाली, जौलजिवी, दत्तु, दम्लिङ र छाङरु गरी ४ बिओपी सहित १ गुल्म स्थापना गरि सकेको छ, भने चीनसँगको सिमामा बिआपी स्थापना गर्न भवन निर्माण गरिरहेको छ । तिंकर बिओपी स्थापनाका लागी सरकारले १ करोड रुपैया विनियोजन गरिएको थियो । यस्तै छाङरु स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङरुको भवन निर्माणको काम आधा जति सम्पन्न भएको जनाइएको छ ।

तस्विर: किरन धामी (नेपाल समाचार पत्र)

प्रतिक्रिया दिनुहोस्