सिन्धुवासीको आँशु पुछ्ने प्रयासमा कलाकर्मी



गत असार एक गते सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा ईन्द्रावतीमा गएको भीषण बाढी पहिरोबाट घरबारविहीन भएकाको सहयोगका लागि कलाकारहरूले सिन्धु सहयोग कोष स्थापना गरी सहयोग अभियानाई अगाडि बढाएका छन् ।

राजधानीमा हालै एक जमघट आयोजना गरी अभिनेता, निर्माता तथा निर्देशक कृष्ण मल्लको अगुवाइमा कोष स्थापना भएको थियो । कोषको स्थापनासँगै कलाकारहरुले व्यक्तिगत तथा संस्थागतरूपमा सहयोगको घोषणा गरेका छन्। जसअनुरूप कोष स्थापनाकै दिन कलाकारहरूद्वारा ३२ लाख रुपैयाँ सहयोग रकम घोषणा भएको अभिनेता मल्लले बताए। हाल कोष दर्ता नभईसकेकोले आफ्नो साथमा सह संयोजक करिश्मा मानन्धर र कोषाध्यक्ष जितु नेपालको नाममा ग्लोबल आईएमई बैकमा संयुक्त खाता खोल्न लागिएको र त्यसपछि कलाकारहरूले घोषणा गरेको रकम बैंकमा जम्मा गरिदिने कोषको संयोजक रहेका मल्लले बताए।

स्थापनाको दिन नै करिव ३२ लाख रुपियाँ कोषलाई प्रदान गर्ने कलाकारहरू घोषणा गरेका छन्। यातायात सञ्चालनमा जोर विजोर प्रणाली रहेकाले त्यस दिन धेरै कलाकार आउन पाउनु भएन। ‘हामीले आह्वान नगरीकन नै सहयोग घोषणा हुने क्रम जारी छ। हरिवंश आचार्य ,शिवहरी पौडेललगायतले सहयोग गर्छु भनेर फोन गर्नु भएको छ’ मल्लले बताए। कलाकारहरूबाट स्वस्फुर्तरूपमा सहयोग घोषणा भएको र केहीले नगद प्रदान गरिसकेको उनले बताए। ‘बाढी प्रभावितका लागि शेल्टर निर्माणको उद्देश्य छ। के कसरी अघि बढ्ने भन्नेमा हामी मिटिङ बसिरहेका छौं। त्यहाँको अवस्था बुझ्न हामी मेलम्ची जाने कुरा छ तर फिक्स भईसकेको छैन’ उनले भने।

हास्य कलाकार तथा सिन्धु सहयोग कोषका कोषाध्यक्ष जितु नेपालले गृह जिल्ला सिन्धुपाल्चोक रोईरहेको बेला कलाकर्मी मिलेर आँसु पुछ्ने प्रयासमा लागेको बताए। ‘कलाकारहरूले सहयोगको घोषणा गर्नु भएको छ हामी कलाकारहरूबाटै ३२ लाख सहयोगको घोषणा भएको छ। रकम बैंक खातामा जम्मा हुँदैछ। त्यो रकमले के कसरी सहयोग गर्ने भन्ने बारेमा मेलम्ची गएर त्यहाँका स्थानीय जनप्रतिनिधिसँग बृहत छलफल गरेर हामी आफैंले वास स्थान निर्माण गरिदिने हो कि, सामान दिएर उहाँहरूले निर्माण गर्ने हो या व्यक्तिगतरूपमा पीडितलाई वासस्थान निर्माणका लागि रकम प्रदान गर्ने भन्नेबारे छलफल गरेर अगाडि बढ्ने छौं’ जितुले भने। हाल बाढी पीडितका लागि खाद्यान्नभन्दा पनि वासस्थानको आश्यकता रहेकोले आफूहरूले बासस्थान निर्माणका लागि पहल गरेको जितु बताउँछन्। ‘अहिले मानिस तथा संस्थाले चामललगायत वितरण गरिरहेकोले वास स्थानको बढी आवश्यकता देखियो। तर वास्तविक पीडित को हो, साच्चिकै घर डुबेको व्यक्ति को हो भन्ने कुरा त्यहाँका जनप्रवतिनिधिहरुसँग छलफल गरेर वास्तविक पीडितको आवासको लागि सहयोग गर्नेछौं’ जितु भन्छन्।

कोषमा अभिनेत्री करिश्मा मानन्धरले एक लाख, नेपाल फिल्म सोसाइटीका तर्फबाट कृष्ण मल्लले एक लाख १० हजार, कलाकार तथा अधिवत्ता कृष्ण ढुंगानाले ५० हजार पाँच सय ५५, जितु नेपालले ५१ हजार, चेतन सापकोटाले ५० हजार, नेपाल चलचित्र कलाकार संघले ५१ हजार ,गोपालकाजी कायस्थले २५ हजार, जनकदीप पराजुलीले एक लाख १० हजार, किरण केसी/राज केसी ग्रुपले २ लाख ५३ हजार, सुभाष खड्काले एक लाख, भुवन केसीले एक लाख, सुरेन्द्र केसीले २५ हजार, नेपाल चलचित्र द्वन्द कलाकार संघका तर्फबाट नारायण प्रधानले २५ हजार, दीपाश्री निरौलाले एक लाख १० हजार, शिवहरी नेपाल ‘बैरागी’ ले २५ हजार पाँच सय २५, ईन्द्र दोङ (खम्बे) ले हर्के हवल्दारका तर्फबाट ७५ हजार, मदनदास श्रेष्ठले ५१ हजार, शोभित उप्रेतीले दुई लाख ५१ हजार, नेपाल चलचित्र नृत्य संघले २५ हजार, गायिका सुनिता दुलालले ५१ हजार पाँच सय ५५, अनु उर्मिला शेरचनले १० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेका थिए। त्यसैगरी घर निर्माणका लागि राष्ट्रिय जेष्ठ नागरिक महासंघले पाँच लाख र मधुकुमार श्रेष्ठले ५१ हजार प्रदान गर्ने घोषणा गरेका छन्। कलाकारहरूले कोषको बैंक खातामा घोषणा गरेको रकम जम्मा गर्ने कृष्णले बताए। कोषमा कलाकार सावित्री शर्माले २५ हजार ,गायिका संगिता तिमिल्सिनाले २० हजार, खेम लामिछानेले ५१ हजार, आरपी पन्तले २५ हजार, सावित्रा चिलुवालले २५ हजार, विदुर खत्री (अमेरीका) ले २० हजार, माधव आचार्यले २५ हजार रुपियाँ थप सहयोग पठाएको मल्लले जानकारी गराए। थप प्राप्त सहयोग र घोषणा भएको रकम सहित करिव ३४ लाख रुपियाँ हुने मल्लले बताए।

अभिनेता कृष्ण मल्ल संयोजक रहेको कोषमा करिश्मा मानन्धर सह संयोजक रहेकी छिन्। त्यसैगरी सदस्य सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जितु नेपाल, सह–कोषाध्यक्षमा चेतन सापकोटा तथा सदस्यहरूमा अभिनेता भुवन केसी, अभिनेत्री श्वेता खड्का, गायिका सुनिता दुलाल र अभिनेत्री पूजा शर्मा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्