माफिया डन ‘किङ अफ कोकिन’ ब्राजिलमा पक्राउ



रियो दि जेनेरियो, (एजेन्सी)

‘किङ अफ कोकिन’ उपनामले पनि कुख्यात इटालीका माफिया डन ब्राजिलमा पक्राउ परेका छन् । इटालीमा सर्वाधिक खोजीको सूचीमा दोश्रो स्थानमा रहेका रोक्को मोरावितो विगत दुई दशकदेखि फरार अवस्थामा थिए ।

उनी इटालीको क्यालाब्रियाबाट सञ्चालित संगठित आपराधिक सञ्जाल ‘ड्रान्गेटा’ का वरिष्ठ व्यक्ति हुन् । यस सञ्जालको कारोबार विश्वभरि चलिरहेको छ । यसले दक्षिण अमेरिकादेखि युरोपसम्म कोकिन ओसार–पसार गरेर वार्षिक रूपमा अर्बौं युरो कमाउने गरेको छ ।उनी दक्षिणी अमेरिकी लागुऔषध कारोबारी समूहहरू र ड्रान्गेटाबीचको प्रमुख दलाल रहेको पनि प्रहरी जनाएको छ । उनलाई अब इटालीसमक्ष सुपुर्दगी गरिने अनुमान गरिएको छ । उनको अनुपस्थितिमा यसअघि नै इटालीको अदालतले उनलाई अवैध माफिया समूहसँग आबद्ध रहेको र लागुऔषध ओसार–पसार गरेको अभियोगमा ३० वर्ष लामो कारावास संजाय सुनाइसकेको छ ।

इटालियन प्रहरी, ब्राजिलियन प्रहरी, अमेरिकी संघीय जाँचबुझ ब्युरो (एफबीआई) र अमेरिकी लागुऔषध नियन्त्रण निकाय सम्मिलित एक विशेष सुरक्षा अभियानको क्रममा ब्राजिलको उत्तर पश्चिमी समुद्री तटमा रहेको पाराइवा राज्यको हाओ पेस्सोआ शहरको एउटा होटेलमा उनलाई पक्राउ गरिएको हो ।२३ वर्षसम्म फरार रहेका मोरावितोलाई सन् २०१७ मा उरुग्वेको मोन्टेभिडियोस्थित एउटा होटेलमा पक्राउ गरिएको थियो । तर, इटालीलाई सुपुर्दगी गरिने क्रममा रहेका उनी दुई वर्षपछि कारागारको छतमा रहेको प्वालबाट भाग्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्