विमान दुर्घटनामा नाइजेरियाली सेना प्रमुखको निधन



अबुजा, एजेन्सी
नाइजेरियाको सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम एत्ताहिरूको उत्तर–पश्चिमी राज्य कादुनामा भएको विमान दुर्घटनामा मृत्यु भएको सरकारी अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । खराब मौसमको समय विमान अवतरणको क्रममा दुर्घटना भएको सेनाले जनाएको छ । विमानका चालक दलका सदस्यहरूलगायत अन्य १० जना अधिकारीको पनि यस दुर्घटनामा ज्यान गएको छ ।

नाइजेरियाका राष्ट्रपति मुहम्मादु बुहारीले आफू यस घटनाबाट अत्यन्तै दुःखी भएको जानकारी दिएका छन् ।५४ वर्षीय जनरल एत्ताहिरूले गत जनवरी मात्र सेनाध्यक्षको पद सम्हालेका थिए । एक दशकभन्दा लामो जिहादी आन्दोलनविरुद्ध सेनालाई शसक्त ढंगले लड्न सक्षम बनाउने योजनाअन्तर्गत उनलाई सेनापति बनाइएको थियो ।नाइजेरियाली वायु सेनाले कादुना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटना भएको स्पष्ट पारेको छ ।

ट्विटरमार्फत राष्ट्रपतिले शसस्त्र फौजले राष्ट्रले भोगिरहेको सुरक्षा चुनौतीहरूको अन्त्य गर्न लागेको अवस्थामा ठूलो बज्रपात भएको प्रतिक्रिया दिएका छन् ।तिन महिनाअघि मात्र राजधानी अबुजास्थित विमानस्थलको धावनमार्गमा एउटा सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार सम्पूर्ण सात जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्