पूर्वप्रहरीको बगैंचामा आठवटा शव



सान साल्भाडोर, एजेन्सी

एल साल्भाडोरमा एकजना पूर्वप्रहरी अधिकारीको घरको बगैंचामा भेटिएको सामूहिक चिहानमा कम्तिमा आठवटा शव फेला परेको सरकारी अधिकारीहरूले बताएका छन् । त्यहँँ अझै अन्य चिहान र शवहरू फेला पर्न सक्ने अनुमान गरिएको छ । भेटिएका अधिकांश शव महिला तथा बालिकाहरूको हुनुपर्ने अनुमान गरिएको छ । अन्य शव निकाल्न अर्को महिना लाग्न सक्ने बताइएको छ ।

प्रहरीले यस सामूहिक चिहानले विगत एक दशकभित्र चलिरहेको गोप्य आमहत्याकाण्डको पर्दाफास हुनसक्ने बताएको छ । यौनका लागि महिला तथा बालिकाको सबैभन्दा बढी हत्या हुने ल्याटिन अमेरिकी मुलुकहरूमध्ये एल साल्भाडोर पनि एक हो ।उक्त बगैंचाको घरका मालिक ५१ वर्षीय ह्युगो अर्नेस्टो ओसोरियो चाभेजलाई यसै महिना ५७ वर्षीया एक महिला र उनकी २६ वर्षीया छोरीको हत्या गरेको अभियोगमा चाल्चुआपा शहरमा प्रहरीले पक्राउ गरेको थियो । विगतमा पनि अपराधको अभियोगमा अनुसन्धानको दायरामा परिसकेका उनले प्रहरीसमक्ष ती दुवैको हत्या गरेको स्विकारेका थिए ।

तर, अनुसन्धानकै क्रममा राजधानी सान साल्भाडारदेखि करिब ७८ किलोमिटर उत्तरमा पर्ने उनको घरमा खानतलासी लिइँदा कम्तिमा सात स्थानमा शव गाडिएको संकेत प्राप्त भएको थियो । केही चिहान केवल दुई वर्ष मात्र पुरानो देखिएको फोरेन्सिक टोलीले दाबी गरेका छन् । यस घटनाले त्यहँँ हत्याको सिलसिला झन्डै एक दशकदेखि चलिरहेको हुनुपर्ने सरकारी सूत्रले जनाएको छ ।शुक्रबार सरकारी वकिल म्याक्स मुनोजले एउटै चिहानबाट फेला परेका आठवटा शवको डीएनए परीक्षण गरेर पीडितको सनाखत गरिने बताएका छन् । शुरूमा सरकारी अधिकारीहरूले त्यहाँ २४ वटा शव भेटिएको बताएका थिए ।

‘ला प्रास्ना’ अखबारले एल साल्भाडोरका राष्ट्रिय प्रहरी निर्देशक माउरिसियो एर्रियाजा चिकासलाई उद्धृत गर्दै पूर्वप्रहरी तथा सेना र मानव तस्करहरू गरी कम्तिमा १० जनाविरुद्ध अपराधको अभियोग लगाइएको जनाएको छ । चिकासले अनुसन्धानको क्रममा चाभेजले ती पीडितहरूलाई सामाजिक सञ्जालमा अमेरिका पु¥याइदिने लोभ देखाउने गरेको प्रमाण फेला परेको पनि बताएका छन् । शव निकालिँदै गर्दा आफन्त हराएका दर्जनौं व्यक्ति चाभेजको घरबाहिर भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्