गाजा क्षेत्रमा भीषण हवाई हमला



जेरुसेलम, एजेन्सी

प्यालेस्टाइनी लडाकु समूह हमासका सदस्यहरूले दक्षिणी इजरायली शहरहरूमा लगातार रकेट प्रहार गर्न थालेपछि इजरायलले त्यसको जवाफस्वरूप सोमबार गाजा क्षेत्रमा दर्जनौंपटक हवाई हमला गरेको छ । गाजामा बिहान सबेरै भएका ती हवाई हमला गत साता इजरायल र प्यालेस्टाइनबीच तनाव शुरू भएयताकै सबैभन्दा भीषण र शक्तिशाली रहेको बताइएको छ ।

इजरायली सेनाले लडाकु समूह हमाससँग सम्बन्धित परिसरहरू र तिनीहरूका कमान्डरहरूका घरहरूमाथि लक्षित आक्रमण गरिएको बताए पनि आक्रमणमा प्रमुख सडकहरू र विद्युत् आपूतिका लाइनहरू पनि क्षतिग्रस्त भएका छन् । ती आक्रमणपछि के–कति मानवीय क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन । प्यालेस्टाइनी मानअधिकारवादी कार्यकर्ता तथा दुई सन्तानकी आमा नाज्ला सावाले बीबीसीलाई बताएकी छन्– ‘यति डराएकी थिएँ कि म मृत्युका लागि तयार थिएँ । मलाई शान्तपूर्वक मृत्युवरण गर्नु थियो । हामीसँग सहकार्य गर्ने युवा तथा वृद्ध सर्वसाधारण र व्यवसायी व्यक्तिहरूको ज्यान गएको छ । ’

इजरायली सेनाले गाजा क्षेत्रमा करिब २० मिनेट लामो आक्रमणमा ५० वटाभन्दा बढी लडाकु विमान प्रयोग गरेको बताएको छ । इजरायली सेनाले लडाकुहरूको ३५ वटा स्थानमा हमला गरिएको तथा हमाससँग सम्बन्धित १५ किमिभन्दा लामो भूमिगत सुरुङ सञ्जाल ध्वस्त पारिएको दाबी गरेको छ । साथै, सेनाले विगत एक सातायता ती लडाकुहरूले इजरायलतर्फ तीन हजारभन्दा बढी रकेट प्रहार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्