विश्वमै मध्यपूर्वमा सबैभन्दा बढी मृत्युदण्ड



लन्डन, (एजेन्सी) ।

 सन् २०२० विश्वमै सबैभन्दा बढी मृत्युदण्ड दिने पाँचवटा मुलुकमध्ये चारवटा मध्यपूर्वकै भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । सो वर्ष विश्वभरि कुल ४ सय ८३ जनालाई मृत्युदण्ड दिइएको र त्यसको ८८ प्रतिशत मृत्युदण्ड इरान, इजिप्ट, साउदी अरेविया र इराकमा दिइएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेस्टीले जनाएको छ ।

एम्नेस्टिले ती मुलुकलाई विश्वभरि खतरनाक कोभिड १९ महामारी फैलिरहेको अवस्थामा रत्तिभर पनि दया नदेखाई मानिसहरूलाई मृत्युदण्ड दिएको आरोप लगाएको छ । तर, एम्नेस्टीको तथ्यांकमा सन् २०२० मा एक दशक यताकै तुलनामा विश्वभरि सबैभन्दा कम मानिसले मात्र मृत्युदण्ड भोग्नुपरेको पनि जनाएको छ । तथ्यांकमा चीन भने उल्लेख गरिएको छैन । चीनमा वर्षेनी हजारौं व्यक्तिलाई मृत्युदण्ड दिने गर्दछ । तर, तथ्यांक निकै गोप्य राखिने भएकाले चीनमा दिइने मृत्युदण्डको वास्तविक तथ्यांक भने कहिल्यै बाहिरिने गरेको छैन ।एम्नेस्टी इन्टरनेसनलाका अनुसार मध्यपूर्व र नर्थ अफ्रिकामा मृत्युदण्ड दिइएको संख्यामा सन् २०१९ मा ५ सय ७९ जना रहेकोमा सन् २०२० मा ४ सय ३७ मा झरेको छ । एम्नेस्टीले बुधबार मृत्युदण्डको प्रयोगमाथि वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । यसैगरी साउदी अरेवियामा पनि मृत्युदण्डमा ८५ प्रतिशतले कमी आएर संख्या २७ मै सीमित हुन पुगेको छ । ५० प्रतिशतले मृत्युदण्ड कमी आएको इराकमा ४५ जनाले मृत्युदण्ड पाएका छन् ।

तर, इजिप्टमा भने ३ सय प्रतिशतले वृद्धि भएर १ सय ७ जनाले मृत्युदण्ड पाएका छन् । तसर्थ, इजिप्ट विश्वमै सबैभन्दा बढी मृत्युदण्ड दिने तेस्रो मुलुक हो । यसैगरी २ सय ४७ जना व्यक्तिलाई मृत्युदण्ड दिएर इरान दोस्रो स्थानमा रहन पुगेको छ ।एम्नेस्टीले इरान सरकारले सरकार विरोधी , प्रदर्शनकारी र अल्पमत जातीय समूहरूका सदस्यहरूलाई दमन गर्ने हतियारकारूपमा मृत्युदण्डलाई प्रयोग गरेको आरोप लगाएको छ । एम्नेस्टीले झण्डै बीस वर्षपछि कतारले पुन पहिलोपटक मृत्युदण्ड दिएकोमा पनि आलोचना गरेको छ । गत वर्षको मे महिनामा हत्याको आरोप लागेका एकजना नेपाली नागरिकलाई फायरिङ स्कवाडले गोली हानेर मृत्युदण्ड दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्