क्युवाली सत्तामा क्यास्ट्रो परिवारको युग अन्त्य हुँदै



हवाना, (एजेन्सी) ।

राउल क्यास्ट्रोले आफूले क्युवाको कम्युनिस्ट पार्टीको अध्यक्ष पदबाट राजीनामा दिन लागेको घोषणा गरेका छन् । उनको यस योजनाले क्युवाली सत्तामा उनको परिवारको ६ दशक लामो आधिपत्यको अन्त्य गर्नेछ ।
८९ वर्षीय क्यास्ट्रोले पार्टी बैठकमा आफूले पूर्ण उत्साही तथा साम्राज्यवादी भावना विरोधी हुँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न लागेको जानकारी दिएका थिए ।

पार्टीको चारदिने बैठकको अन्त्यमा उनका उत्तराधिकारी छनोटका लागि मतदान हुने क्युवाली सञ्चार माध्यमले जनाएको छ । सन् १९५९ मा क्युवामा भएको क्रान्तिपश्चात् राउलका दाजु फिडेल क्यास्ट्रोले लामो समयसम्म सत्ताको बागडोर सम्हालेका थिए । राउलले आफ्नो सम्भावित कुनै उत्तराधिकारीको संकेत नदिए पनि पार्टीले मिगेल डियाज –क्यानेललाई नेतृत्व सुम्पने बलियो सम्भावना रहेको छ । क्यानेल सन् २०१८ मा टापु राष्ट्र क्युवाको राष्ट्रपतिका रूपमा देखा परेका थिए ।बहुप्रतीक्षित यो ऐतिहासिक क्षणले क्युवामा पहिलोपटक क्यास्ट्रो परिवार बाहिरका कुनै व्यक्तिले देश हाँक्ने औपचारिक मौका पाउन लागेको हो । एक्कासी राजनीतिक नेतृत्वमा आउने यस परिवर्तनले देशका अन्य पक्षमा पनि पक्कै केही परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

राउल क्यास्ट्रोलाई उछिनेर राष्ट्रपति बनेका मिगेल राउललाई नै विस्थापन गरेर पहिलोपटक पार्टीको सचिव बन्ने बताइएको छ । मिगेल क्युवाको केन्द्रबाट नियन्त्रित अर्थतन्त्रमा उदार नीति अपनाउन बाध्य हुने सम्भावना देखिएको छ ।
विश्वमा शीतयुद्धको अन्त्य भएयता क्युवाको अर्थतन्त्र समस्याग्रस्त रहँदै आएको छ । परिणामस्वरूप हालै मात्र त्यहाँका कृषकहरूलाई गाईको मासु, तथा दुग्ध उत्पादित वस्तुहरू बेच्ने अनुमति दिइएको छ । विगतमा यस्ता सम्पूर्ण व्यवसायमाथि राज्य सरकारको एकल नियन्त्रण रहने गर्दथ्यो ।अमेरिकासँग क्युवाको लामो समयसम्म तनावित रहेको थियो । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओवामाको कार्यकालमा अमेरिका र क्युवाबीच पुनः कूटनीतिक सम्बन्ध सुचारु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्