एकदिन क्राइम सो हेर्नेलाई २४ सय डलर दिइने



सेन्ट लुइस,(एजेन्सी)  ।

 सत्य घटनामा आधारित क्राइम सो हेर्नेहरूलाई अमेरिकाको मेजल्लान टेलिभिजनले अनौठो सुनौलो काम दर्शकसामु ल्याएको छ । यस कम्पनीले चौबिस घन्टासम्म लगातार यस्तो आपराधिक घटनामा आधारित कार्यक्रम हेरेवापत दुई हजार चार सय अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेको छ । यस टेलिभिजनले दोस्रोपटक वार्षिक ‘ट्रु क्राइम वाच ड्रिम जब’ आयोजना गर्न लागेको हो ।

पोहोर साल मेजल्लानले एकजना व्यक्तिलाई यो काम गरेवापत १ हजार डलर प्रदान गरेको थियो ।तर, यसपालि दह्रो मुटु भएका तीन जना दर्शकलाई प्रतिघन्टा सय डलरको हिसाबले जनही दुई हजार चार सय डलर दिन लागेको हो । तर, तिनीहरूले सबैभन्दा डरलाग्दो सिरियल किलरको कार्यक्रम नडराइकन हेर्नुपर्ने, लगातार २४ घन्टासम्म कार्यक्रम स्ट्रिम गर्नुपर्ने तथा आफूले हेरेका कार्यक्रम सामाजिक सञ्जालमा राख्नुपर्ने जस्ता केही निश्चित शर्तहरू भने पालना गर्नुपर्ने बताइएको छ ।

छनौटमा परेका उम्मेदवारले ‘ज्याक दि रिपर: ‘ट्याब्लोइड किलर’ ‘अ मोन्स्टर अमोनग अस’ ‘मर्डर इन प्याराडाइज’ र अन्य २१ वटा सत्य घटनामा आधारित क्राइम सो हेर्नुपर्ने हुन्छ । विजेतालाई नगदलगायत मेजल्लान टेलिभिजनको एक वर्षीय निशुल्क सदस्यता पनि प्रदान गरिने भएको छ । आगामी ५ मेसम्म यसका लागि सबैले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्