मानव सेवा आश्रमका लागि करोडौंको जग्गा दान



हरिहर नेपाल, विराटनगर ।

विराटनगरका खड्का परिवारले मानव सेवा आश्रम निर्माणका लागि विराटनगर–५ स्थित कोचाखालमा ६ कठ्ठा जग्गा प्रदान गरेका छन् । शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा डम्बर सतसङ सद्गुरु कविर सेवा आश्रमकी अध्यक्ष सुशीला भट्टराईले मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई सो करोडौं मूल्य पर्ने जग्गाको कागजपत्र हस्तान्तरण गर्नुभएको हो ।

स्व.डम्बरवहादुर खड्काले आफ्नो मृत्युपछि मानव सेवाको हितमा काम गर्न भनेअनुसार खड्का परिवारका सदस्यहरुले कविर आश्रमको नाममा रहेको १३ कठ्ठा जग्गामध्ये ६ कठ्ठा जग्गा मानव सेवा आश्रमलाई प्रदान गरेका हुन् । खड्का परिवारले १३ कठ्ठा जग्गा कविर सेवा आश्रमलाई भोगचलन गर्नका लागि दिएको थियो । महानगरपालिकाका मेयर भीम पराजुलीले मानव सेवा प्रवद्र्धन कार्य गरेकोमा दाता परिवारले पुण्यको काम गरेको बताउनुभयो । उहाँले छोराछोरीले वृद्ध आमाबुबालाई ज्येष्ठ नागरिक गृहमा पठाउने कार्य बन्द गर्न आग्रह गर्नुभयो । मेयर पराजुलीले प्राप्त भएको जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक भवन निर्माण गर्न चाँडै विराटनगरमा नेपालका प्रसिद्ध कलाकारहरुको उपस्थितिमा बृहत् सांगीतिक कार्यक्रमको आयोजना गर्ने जानकारी पनि दिनुभयो ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवीय कार्यका लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गर्नुभएको बताउँदै आश्रमले शुरु गर्न लागेको ज्येष्ठ नागरिक मनोरञ्जनका लागि सहयोग गर्न महानगरलाई आग्रह गर्नुभयो । दाता संस्थाकी अध्यक्ष भट्टराई र स्व. खड्काकी बुहारी जमुना खड्का, गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाईंलगायतले दुःख र पीडामा सहयोग गर्न पाउँदा खुसी लागेको लागेको चर्चा गर्दै आगामी दिनमा थप सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा दाताहरु खड्का परिवारका सदस्यहरु एवं कविर आश्रमका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।हाल विराटनगरमा सहयोगापेक्षी मानवहरूलाई भाडाको घरमा राखिएको छ । विराटनगरमा तीनवटा घर भाडामा लिएर २ सय ४६ जना सहयोगापेक्षीको बसोबासको व्यवस्था गरिएको छ । आश्रमलाई प्राप्त भएको जग्गाको चलनचल्तीको मूल्य करिब ४ करोड रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्