पाँच वर्षअघि नै म्याद सकिएको दाल बजारमा



हरिहर नेपाल, विराटनगर ।

पाँच वर्षअघि नै म्याद सकिएको खाद्यवस्तु बिक्री–वितरण गरेको पाइएपछि विराटनगर–७ नेपाल राष्ट्र बैंकअगाडि रहेको जैसानी ट्रेड कन्सर्नलाई ३ लाख रुपियाँ जरिवाना गरिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै ५ वर्षअघि म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर बिक्री–वितरण गरेको भेटिएपछि उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरिवाना गरेको हो ।

जैसानी टे«डले विदेशी ब्रान्डको टोर नाम गरेको ‘रहर’को दाल भारतदेखि आयात गर्दछ । उक्त रहरको दालको म्याद सकिएको बोरामा नयाँ लेबल लगाएर बजारमा बिक्री–वितरण गरेको पाइएको हो । निखिल जैसानी बोहोरा प्रोपाइटर रहेको जैसानी ट्रेड कन्सर्नले विदेशी ब्रान्डका रहरको दाल आयात गरी विराटनगरसहित देशभरि सप्लाई गर्दै आएको छ । बोहोराले आयात गरेको विदेशी ब्रान्डको रहरको दाल ठूलो परिमाणमा म्याद सकिएको अवस्थामा भेटिएको छ ।अनुगमनका क्रममा गम्भीर लापरबाही गरेको भेटेपछि भारतदेखि खाद्यवस्तुको आयातकर्ता जैसानी टे«डलाई ३ लाख रुपियाँ जरिवाना गरिएको हो । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा बुधबार गरेको अनुगमनका क्रममा जैसानी टे«ड कन्सर्नको गोदाममा मात्र विदेशी ब्रान्डका म्याद सकिएको ४० टन रहरको दाल बरामद गरिएको वाणिज्य कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

१५ केजी तौल भएको बोरा २ हजार ७ सय थान म्याद सकिएको बरामद भएको छ । बजारमा पनि म्याद सकिएको ठूलो परिमाणमा रहरको दाल पठाएको हुन सक्ने भएकाले वाणिज्य कार्यालयले बजार अनुगमनलाई तीव्रता दिने भएको छ । सन् २०१३ मा उत्पादन भएको टोर नामको रहरको दालको म्याद सकिने मिति २०१५ रहेको छ । तर, बोहाराले उपभोक्ता स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद सकिएको रहरको दालको बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति २०२२ राखेर बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा फेला परेको हो ।म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल (स्टिकर) राखेर विदेशी ब्रान्डको रहरको दाल बजारमा पठाउने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । ‘म्याद सकिएको खाद्यवस्तुको बोरामा नयाँ उपभोग्य मिति भएको लेबल राखेर बिक्री–वितरण गरेको कसूर हो’, पोखरेलले भन्नुभयो– ‘यो कसूर उपभोक्ता संरक्षण ऐन–२०७५ बमोजिमको भएकाले ३ लाख रुपियाँ जरिवाना गरिएको छ ।’ बिक्री गर्न गोदाममा स्टकमा राखिएको दाल बिक्री–वितरणमा तत्काल रोक लगाएको कार्यालयले जनाएको छ ।

थप अनुसन्धानपछि म्याद सकिएको रहरको दाल नष्ट गरिनेछ । जैसानी टे«ड कन्सनले बजारमा पनि उपभोग्य म्याद सकिएको पठाएको दाल पठाएको खुलेको छ । विराटनगरको गुद्रीमा रहेको अनोखी टे«ड एन्ड सप्लायर्स र ओम किराना पसलमा जैसानी ट्रेडले पठाएको उपभोग्य म्याद सकिएको रहरको दाल भेटिएको हो । अनोखी टे«ड एन्ड सप्लार्यमा १२ बोरा र ओम किराना पसलमा ३ बोरा त्यस्तो दाल बरामद भएको वाणिज्य कार्यालयले जनाएको छ । कार्यालयले अनोखीलाई २० हजार र ओम किरानालाई ५ हजार रुपियाँ जरिवाना गरेको हो । शुरुआतमा ती पसलको अनुमगनपछि जैसानीमा अनुगमन टोली पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्