अनिद्रा किन हुन्छ र निदाउन के गर्ने?



निद्रा औषधिसमान हो । अर्थात् शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ राख्न निद्रा अपरिहार्य छ । स्वस्थ्य जीवनका लागि खाना जति आवश्यक छ, उति नै निद्रा पनि । यसले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । शरीरका अंगहरुलाई विश्राम मिल्छ । जब हामी निदाउँछौं, केही अंगले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले बिहान उठेपछि हल्का र फूर्तिलो अनुभव हुन्छ ।कोही मान्छे चार घण्टा सुतेर पनि एकदम फ्रेस भएको अनुभव गर्छन् । मान्छेको व्यक्तित्व र आनिबानीअनुसार कसैलाई धेरै सुत्न पर्छ, कसैलाई थोरै । ‘टाइप ए पर्सनालिटी’ भएकाहरु प्रायः कम सुत्छन् । उनीहरु धेरै महत्वाकांक्षी हुन्छन् । ‘टाइप बी पर्सनालिटी’ भएका मान्छेहरु बढी सुत्ने हुन्छन् । तर शरीरलाई नपुग्ने गरी लगातार लामो समय अनिद्रा भइराखे डिप्रेसन र एन्जाइटी बढ्न सक्छ ।
अनिद्राको समस्या राति काम गर्नेलाई बढी हुन्छ ।

साबिकको भन्दा फरक समय भएको विदेशमा काम गर्न जानेमा यो समस्या बढी हुन्छ । आफ्नो चलिरहेको समयभन्दा बाहिर गएपछि मस्तिष्कले कुन बेला उठ्ने र सुत्ने भन्ने कुरामा अलमल पर्छ । मस्तिष्क अलमल भएपछि स्वतः निद्रा बिग्रने र अनिद्रा बढ्ने समस्या हुन्छ । नेपालबाट विदेशमा काम गर्न जानेले महिनौं यस्तो समस्या भोगेका हुन्छन् । यो समस्या बढ्दै गएपछि उनीहरुमा तनाव बढेजस्तो हुने, डर लाग्ने र मुटु काम्ने हुन थाल्छ ।यही भयले कतिपय नेपाल नै फर्किएका पनि छन् ।डिप्रेसन हुँदा निद्रा लाग्दैन । दिक्क लाग्ने, निराश हुने हुँदै साँझ परेपछि मनमा कुरा खेल्न थाल्छन् । अनेक कुरा शृङ्खलाबद्धरुपमा आई नै रहन्छन्, जसले झनै दिमाग सक्रिय हुन्छ ।अनि त सुत्न खोजे पनि निद्रा आउँदैन ।निद्रा नलाग्ने समस्या बढेपछि र यसले मान्छेलाई असर गर्न थालेपछि बल्ल ऊ चिकित्सक भेट्छ । यहाँसम्म आइपुग्दा कतिपयले आफ्नो कामधाम छाडिसकेका हुन्छन् ।

एन्जाइटीका कारणले पनि निद्रा लाग्दैन । सुत्न बेला बत्ती निभायो, मन डराउन थाल्छ ।मुटु ढुक–ढुक हुन्छ र सास फेर्न गाह्रो भएर निस्सासिएको झैँ हुन्छ । अँध्यारोमा डराउने हुँदा एन्जाइटी भएको मान्छे सुत्न सक्दैन । मानिसमा रक्सीको लत लागेका बिरामीलाई छोड्नुस् भन्यो भने नखाई त निदै्र लाग्दैन भन्छन् । यहाँ बिरामीले के बुझ्दैन भने, उसलाई पहिलादेखि नै मानसिक समस्या छन् । रक्सी नखाई नहुनु पनि मानसिक समस्या नै हो ।रक्सी खाएर निदाउने बानी परेकाको नशा उत्रिनासाथ निद्रा पनि उत्रिन्छ । निदाउने सहारा मान्दै आएको रक्सीले नै उसको निद्रा बिगार्दै गइरहेको उसले पत्तो पाउँदैन ।ऊ रक्सी खाएर दुई–चार घण्टा निदाएँ भन्छ तर नखाँदा ८ घण्टा सुत्थ्यो भन्ने कुरा बिर्सन्छ । रक्सीले शरीरमा आफ्नो प्रभुत्व जमाउँदै गएपछि उसको स्मरण क्षमता पनि घट्दै गएको हुन्छ । ‘न्युरो ट्रान्समिसन’ मा हुने गडबडीका कारणले निद्रा नलाग्ने समस्या हुन्छ ।मान्छेको जीवनशैलीले पनि अनिद्रा समस्या बढाएको छ । खासगरी विद्यार्थीहरु अनिद्राका कारण कलेज नै जान नसकेका उदाहरण पनि छन् । राति अबेरसम्म इन्टरनेटमा झुम्मिनेहरु बिहान अबेरसम्म सुत्न चाहन्छन् । बिहानै कलेज जान पर्नेहरु उठ्नै पर्ने हुन्छ । तर दैनिक ढिलो सुताइ र चाँडो उठाइले उनीहरुको शारीरिक र मानसिक समस्या बढाउँदै लैजान्छ । अनि, बिस्तारै उठ्नकै समस्याले कलेज जानै कम हुन्छ वा छाड्छन् ।

उनीहरु ढिलो सुतेर, ढिलै उठेर ८–१० घण्टा सुते पनि समस्या भई नै हाल्छ । किनकि, यो स्वाभाविक होइन । हामीले खोजेको जीवनशैली होइन, जसलाई हामी स्वीकार्न गाह्रो मान्दै जान्छौं ।हामी त बिहानै उठेर, व्यायाम गरेर कलेज जानुछ । वा, बिहानका अन्य काम सकेर दिनको तयारी गर्नुछ । तर, यी सब हुन सकिरहेका हुँदैनन् ।यसले झनै अनिद्रा बढाउँछ । र, अबेर सुत्ने समस्या बढ्दै सुत्नै नसक्ने अवस्थामा पुग्छ । अनि, उसलाई एन्जाइटी–डिप्रेसन हुन्छ । त्यसैल जीवनशैली र निद्राको सम्बन्ध गहिरो छ । निद्रा हाम्रो लागि नभई नहुने कुरा हो । दिउँसो सुत्दा पनि हुने होला त, तर राति नै सुत्ने परम्परा किन भयो ? किनकि, यो आरामदायी र पूर्ण हुन्छ । उज्यालो नहुने, बाहिर हल्ला कम हुने वा नहुने हुँदा रातको निद्रा सहज हुन्छ । हल्ला र उज्यालोमा मस्तिष्क सक्रिय हुन्छ र निद्रा लाग्दैन ।त्यसैले राति काम गर्नेले दिउँसो निद्रा लागोस् भनेर धेरै उज्यालोबाट बच्ने, कालो चश्मा लगाएर हिँड्ने, घर आउनासाथ पर्दा लगाएर होहल्ला नभएका ठाउँमा निदाउने प्रयास गर्ने गर्नुपर्छ । राति काम गर्ने बाध्यता नभएकाले आफ्नो जीवनशैली परिवर्तन गर्ने, राति अबेरसम्म टिभी–इन्टरनेटमा नझुम्मिने, सुत्ने र उठ्ने समय नियमित बनाउने प्रयास गर्नुपर्छ । सुत्ने समय ढिलोमा साढे १० र उठ्ने समय ढिलोमा ७ बजे गर्नुपर्छ । यसको लागि आफैं ऊर्जा ल्याउन जरुरी छ ।
निदाउन नसकेर निकै समस्या परे चिकित्सकको सल्लाह र औषधि पनि लिन सकिन्छ ।

सधैँ व्यायाम गर्नाले नियमित निद्रा हुन निकै मद्दत हुन्छ ।यसका निम्ति हामी साँझ–बिहान समयमिलाएर हिँड्न सक्छौं । यसबाहेक अन्य व्यायाम, ध्यान, योग गरेर पनि अनिद्राको समस्या समाधान हुन सक्छ ।हामीले खाने कुरा र समय नमिल्दा वा अनियमित हुँदा पनि निद्रा लाग्दैन । त्यसैले सकेसम्म एकै समयमा खाने र राति हल्का खाने गर्नुपर्छ । खाएको कम्तीमा एक घण्टासम्म नसुत्ने,निद्रा लाग्दैन भनेर चिन्तित हुने होइन, लाग्छ भन्ने सोच्ने र प्रयास गर्ने गर्नुपर्छ । सुत्ने बेलामा निद्रा बिगार्ने गरी आएका विचार पन्छाउनतिर लाग्ने गर्नुपर्छ । यसबारे भोलि सोचेर समाधान निकालौंला भनेर मस्तिष्कलाई सुझाव दिने गरेमा बिस्तारै यो नियमित हुँदै जान्छ अनिनिद्रा लाग्न थाल्छ । हामीले यसको अभ्यास नै नगरेर झनै समस्या बढेको हो ।आनन्दसँग निदाऔं, स्वस्थ रहौं ।
– श्याम भारती, दैलेख 

प्रतिक्रिया दिनुहोस्