सार्वजनिक भएन सुनसहितको रकम



नेपाल समाचारपत्र, डोटी ।

डोटीमा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यलय डोटीको प्रहरी टोलीले स्रोत नखुलेको एक किलो सय ग्राम सुनसहित रु. १७ लाख ४७ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ गरेको सुन तथा पक्राउ पर्ने व्यक्तिका विषयमा अहिलेसम्म पनि कुनै सार्वजनिक नगरेको भन्दै यहाँका स्थानीयबासी प्रहरीप्रति सशंकित हुन थालेको सिलगढीका स्थानीय भरत नेपालीले बताउनुभयो ।उता प्रहरीले सुन र रकमसँगै पक्राउ गरेका व्यक्तिलाई हाजिर जमानीमा छोडेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट केआईसिंह गाउँपालिका–६ भिताणीकी ६० वर्षीया काली भुललाई पक्राउ गरेको थियो । प्रहरीले काली र उहाँका भतिजालाई एक दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर दोस्रो दिन बयानपश्चात् छोडिएको थियो ।

उक्त घटनासँग जोडिएका अन्य व्यक्तिको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले दाबी गरे पनि अहिलेसम्म बरामद सामान सार्वजनिक गर्न नसक्दा नियतमा स्थानीयमा शंका उत्पन्न भएको हो ।प्रहरीका अनुसार उक्त प्रकरणमा जोडिएका अन्य व्यक्ति अझै फरार रहेका छन् । पक्राउ परेकी महिलाले डोटीकै सुन पसलमा सुन बिक्री गरेर नगद लिएको भन्नेसमेत खुल्नमा आएको छ । जिल्लाको प्रहरी नेतृत्व समेत परिवर्तन भएको छ, तर सुनका विषयमा प्रहरीले त्यती चासो नदेखाएको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वाटरमार्फत आफूहरुलाई सूचना आएपछि सुन र नगद बरामद गरिएको दाबी गर्नुभयो । उहाँका अनुसार प्रहरीले बरामद गरिएको सुनको मुचुल्का बनाएर सो विषयमा हेडक्वाटरमार्फत भारतीय दूतावासमा जानकारी गराइ सकेको छ ।प्रहरी स्रोतका अनुसार सुन तथा रकम चोरीका विषयमा भारतबाट अहिलेसम्म कुनै पनि व्यक्ति सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्