कँगोमा इटालियन राजदूतको हत्या



रोम, (एजेन्सी) ।

प्रजातान्त्रिक गणतन्त्र कँगोका लागि इटालीका राजदूत लुका एत्तानासियाको कँगोको पूर्वी भागमा सोमबार भएको एक आक्रमणमा ज्यान गएको इटालियन विदेश मन्त्रालयले जनाएको छ । गोमानजिक संयुक्त राष्ट्र संघको गाडीमा यात्रा गरिरहेको अवस्थामा भएको गोली प्रहारमा घाइते हुन पुगेको उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

उनी चढेको गाडी संयुक्त राष्ट्र संघको विश्व खाद्यान्न कार्यक्रम (डब्ल्यूएफपी) को रहेको र उनको साथमा यात्रामा रहेका एक जना सैनिक प्रहरी अधिकारी र अर्को तेश्रो व्यक्तिको पनि मृत्यु भएको स्थानीय सञ्चार–माध्यमले जनाएको छ ।घटनास्थल नजिकको भिरुंगा नेसनल पार्कका अधिकारीहरूका अनुसार अपहरण प्रयासको क्रममा यो आक्रमण भएको हुनुपर्दछ ।

रुवान्डा र युगान्डाको सिमानानजिक रहेको सो पार्क वरपर सशस्त्र लडाकु समूहहरू सक्रिय रहेको बताइएको छ । कंगोको पूर्वी भागमा नियमितरूपमा छापामार समूहहरूका बीच पनि भिडन्त हुने गरेको जनाइएको छ । त्यहा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका ठूलो संख्यामा फौज परिचालित छन् ।

प्रतिक्रिया दिनुहोस्