एकै घण्टामा १ हजार साइकल बनाएर नयाँ विश्व कीर्तिमान


काठमाडौं ।

अमेरिकाको टेक्सासमा सयौँ स्वयंसेवकले एकै घण्टामा एक हजार साइकल तयार गरेर नयाँ विश्व कीर्तिमान बनाएका छन्। उनीहरूले कीर्तिमान मात्रै बनाएनन्, आर्थिक अवस्था कमजोर भएका एक हजार स्थानीय बालबालिकाका लागि बिदाको अवसरमा खुसीको उपहारसमेत जुटाएका छन्।

यो सामूहिक अभियान नोभेम्बर १२ मा टेक्सासको रिचर्डसनमा आयोजना गरिएको थियो। समुदाय व्यवस्थापन कम्पनी एसोसियाले आफ्नो वार्षिक ‘बिग बाइक गिभअवे’ कार्यक्रमअन्तर्गत उक्त अभियान सञ्चालन गरेको हो। स्वयंसेवकहरूले जम्मा एक घण्टाभित्र १ हजारवटा नयाँ स्विन साइकल जोडेर तयार पारेका थिए।

यससँगै सन् २०१७ मा अमेरिकाको डेनभरमा कायम भएको एक घण्टामा ९७९ वटा साइकल तयार गरी दान गर्ने पुरानो कीर्तिमान तोडिएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ।

तयार गरिएका साइकल डलास क्षेत्रका १८ वटा स्थानीय परोपकारी संस्थामार्फत बालबालिकालाई वितरण गरिनेछ। ती संस्थामध्ये सिंगल पेरेन्ट एड्भोकेट र टोयज फर टट्स पनि छन्।

कार्यक्रममा सहभागी स्वयंसेवकहरूले साइकल जोड्ने कामलाई विभिन्न समूहमा बाँडेर व्यवस्थित रूपमा अघि बढाएका थिए। तयार भएका साइकल गुणस्तर परीक्षणपछि छुट्टै स्थानमा राखिएका थिए। गिनिज वर्ल्ड रेकर्ड्सका प्रतिनिधि माइकल एम्प्रिकले कार्यक्रमको अनुगमन तथा साइकलको गणना गरेका थिए। अन्त्यमा एसोसियालाई नयाँ विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरिएको थियो।

एसोसियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जोन कारोना आफू बाल्यकालमा आर्थिक कठिनाइबाट गुज्रिएकाले आवश्यकतामा रहेका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले यस्ता कार्यक्रम अघि बढाएको बताउँछन्। उनका अनुसार बालबालिकाका लागि साइकल स्वतन्त्रता, आत्मविश्वास र नयाँ अवसरको प्रतीक बन्न सक्छ।

यो अभियान केही वर्षअघि स्थानीय परोपकारी संस्थाका लागि ३० वटा साइकल तयार गर्ने सानो प्रयासबाट सुरु भएको थियो। समयसँगै विस्तार हुँदै गएको कार्यक्रमले यस वर्ष विश्व कीर्तिमानको रूप लिएको हो। साइकल प्राप्त गर्ने बालबालिकाका लागि यो केवल खेल्ने साधन नभई नयाँ अनुभव र खुसीको माध्यम बन्ने आयोजकको विश्वास छ।

गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार यसअघि एक घण्टामा सबैभन्दा धेरै साइकल दान गर्ने कीर्तिमान सन् २०१७ मा अमेरिकाकै डेनभरमा ९७९ वटा साइकल दान गरेर कायम गरिएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।