काठमाडौं ।
सामान्यतया चेस खेल्न टेबल, कुर्सी र शान्त वातावरण चाहिन्छ। तर अमेरिकाका दुई साथीले भने समुद्र सतहबाट २० हजार ५९३ फिट उचाइमा पुगेर चेस खेलेका छन्। उनीहरूको यही अनौठो प्रयासले गिनिज वर्ल्ड रेकर्डमा स्थान बनाएको छ।
अमेरिकाका एडम विनिङ्गर (३२) र जोशुआ होस्ट (४४) ले दक्षिण अमेरिकी देश इक्वेडरस्थित चिम्बोराजो हिमालको चुचुरोमा पुगेर चेस खेलेका हुन्। उनीहरूले सन् २०२६ मार्च ३१ मा ६ हजार २७७ मिटर अर्थात् २० हजार ५९३ फिटको उचाइमा चेस खेलेर सबैभन्दा बढी उचाइमा बोर्ड गेम खेलेको विश्व कीर्तिमान कायम गरेका हुन्।
गिनिज वर्ल्ड रेकर्ड्सले नोभेम्बर २४ मा उनीहरूको उपलब्धिबारे सार्वजनिक गरेको थियो। यससँगै उनीहरूले स्थलभागमा सबैभन्दा बढी उचाइमा बोर्ड गेम खेलेको कीर्तिमान आफ्नो नाममा बनाएका छन्।
यी दुई साथीलाई पर्वतारोहण, साहसिक चुनौती र चेस खेलप्रति विशेष रुचि थियो। उनीहरूले आफ्नो साझा रुचिलाई विश्व कीर्तिमानमा बदल्ने योजना बनाएका थिए। कीर्तिमान कायम गर्ने प्रयासअघि उनीहरूले विभिन्न स्थानमा चेस खेलेर अभ्यास गरेका थिए। साथै, पर्वतारोहणसम्बन्धी तयारी पनि गरेका थिए।
चिम्बोराजो हिमाल चढ्ने उनीहरूको पहिलो प्रयास भने खराब मौसमका कारण सफल हुन सकेन। केही महिनापछि पुनः प्रयास गर्दा उनीहरू चुचुरोसम्म पुग्न सफल भए। हिमाल आरोहणका क्रममा तीव्र हावा, अत्यधिक चिसो र कठिन बाटोको सामना गर्नुपरेको एडमले गिनिज वर्ल्ड रेकर्ड्सलाई बताएका छन्। उनीहरूसँगै गएका अभियानका कतिपय सदस्य खराब परिस्थितिका कारण बीच बाटोबाटै फर्कनुपरेको थियो।
हिमालको चुचुरोमा पुगेपछि उनीहरूले चेस बोर्ड निकालेर खेल सुरु गरेका थिए। अत्यधिक चिसोका कारण खेल्दासमेत उनीहरूले पञ्जा लगाउनुपरेको थियो। उनीहरूबीच भएको खेलमा एडम विनिङ्गर विजयी भए। अल्ट्राम्याराथन दौडको प्रशिक्षण लिएका एडमलाई शारीरिक क्षमताका कारण केही फाइदा भएको हुन सक्ने उनले बताएका छन्।
यसअघि सबैभन्दा बढी उचाइमा बोर्ड गेम खेलेको कीर्तिमान बेलायतका टिम माउ र निल लटनको नाममा थियो। उनीहरूले सन् २०२४ सेप्टेम्बर १७ मा नेपालको पुथा हिउँचुली हिमालमा ६ हजार २१६ मिटर अर्थात् २० हजार ३९३ फिटको उचाइमा चेस खेलेका थिए। तर अमेरिकी दुई साथीले उक्त कीर्तिमानलाई करिब २०० फिटले पछाडि पार्दै नयाँ रेकर्ड कायम गरेका हुन्।
नयाँ कीर्तिमान कायम गरेपछि एडम र जोशुआले आफ्नो उपलब्धि कायम राख्ने इच्छा व्यक्त गरेका छन्। भविष्यमा कसैले आफ्नो रेकर्ड तोडे आफूहरूले फेरि त्यसलाई थप २०० फिटले उछिन्ने एडमको भनाइ छ।








तपाईंको विचार लेख्नुहोस्