काठमाडौ ।
भारतमा चलिरहेको रेलभित्रै दियो बालेर पूजा गर्दै शंख बजाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। रेलभित्र यात्रुले गरेको यस्तो गतिविधिले अन्य यात्रुको सुरक्षामाथि जोखिम निम्त्याउन सक्ने भन्दै अहिले यसको चर्चा भइरहेको छ।
नोभेम्बर २६ मा सार्वजनिक भएको भिडियोमा एक व्यक्ति धोती लगाएर रेलको सिटमा बसेको देखिन्छन्। उनको शरीर र निधारमा विभूति लगाइएको छ। उनले आफूअगाडि सानो टेबल राखेर त्यसमा देवीदेवताको तस्बिर, फूलमाला र पूजाका सामग्री सजाएका छन्। टेबलमा दियोसमेत बालिएको छ। त्यसपछि उनले शंख बजाउँदै पूजा गरेको दृश्य भिडियोमा देखिन्छ।
रेल गुडिरहेको अवस्थामा गरिएको उक्त पूजाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले धार्मिक आस्था व्यक्तिगत विषय भए पनि सार्वजनिक यातायातमा आगो बालेर पूजा गर्नु उचित नभएको बताएका छन्। बन्द एसी कोचभित्र दियो बाल्दा आगलागी हुन सक्ने भन्दै यात्रुको सुरक्षाबारे चिन्ता व्यक्त गरिएको छ।
भिडियो सार्वजनिक भएपछि भारतीय रेल्वेको आधिकारिक सेवा खाता ‘रेलवे सेवा’ ले घटनाबारे अनुसन्धान गर्न आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ। रेल्वेले घटना भएको मिति र समय, रेल नम्बर, पीएनआर वा यूटीएस नम्बर तथा सम्पर्क नम्बर मागेको छ।
रेल्वेले यस्ता गतिविधिबारे यात्रुले रेलमदद पोर्टलमार्फत वा १३९ नम्बरमा फोन गरेर उजुरी गर्न सक्ने जानकारीसमेत दिएको छ।
यस घटनाले सामाजिक सञ्जालमा धार्मिक स्वतन्त्रता र सार्वजनिक सुरक्षाबीचको सीमाबारे बहससमेत सुरु गराएको छ। प्रयोगकर्ताहरूले पूजा गर्नु व्यक्तिगत आस्थाको विषय भए पनि त्यसका कारण अन्य यात्रुको ज्यान जोखिममा पार्न नहुने धारणा राखेका छन्।
यद्यपि, भिडियोमा देखिएका व्यक्तिको पहिचान र रेलको विवरण सार्वजनिक रूपमा पुष्टि भएको छैन। भारतीय सञ्चारमाध्यमले पनि भिडियोको स्वतन्त्र पुष्टि गर्न नसकेको उल्लेख गरेका छन्।








तपाईंको विचार लेख्नुहोस्