काठमाडौं ।
मनमा पीडा हुँदा एकान्तमा बसेर आँसु झार्नु सामान्य मानवीय व्यवहार हो। तर जर्मनीमा एक महिलालाई बालबालिकाको खेलमैदानमा रहेको बेन्चमा बसेर रोएको अवस्थामा २५ युरो जरिवाना गरिएको घटनाले अहिले विश्वभर चर्चा पाएको छ।
जर्मनीको गेल्सेनकिर्चेन सहरमा बस्ने ३१ वर्षीया हाना नामकी महिलालाई बालबालिकाको खेलमैदानमा बच्चाबिना बसेको भन्दै नगरपालिकाका अधिकारीहरूले जरिवाना गरेका हुन्। अध्ययन र आर्थिक समस्याका कारण मानसिक दबाबमा रहेकी उनी केही समय एकान्तमा बिताउन पार्क पुगेकी थिइन्।
जर्मन सञ्चारमाध्यम डब्लूडीआर (WDR) का अनुसार घटना सन् २०२६ अक्टोबर २५ मा गेल्सेनकिर्चेनको ग्लुकआफ पार्कमा भएको थियो। हाना पार्कमा हिँडिरहेकी थिइन्। त्यसक्रममा उनी भावुक भइन् र रुन थालिन्। त्यसपछि उनले आफ्नी काकीलाई फोन गरेर समस्याबारे कुरा गर्न खेलमैदानमा रहेको एउटा बेन्चमा बसेकी थिइन्।
तर, केही समयपछि नगरपालिकाका सार्वजनिक व्यवस्था हेर्ने तीन जना अधिकारी त्यहाँ पुगे। उनीहरूले बेन्चमा बसेकी हानालाई नजिकै खेलिरहेका दुई बालबालिका उनका सन्तान हुन् कि होइनन् भनेर सोधे। हानाले ती बालबालिका आफ्ना नभएको बताएपछि अधिकारीहरूले उनीसँग परिचयपत्र मागे र नियम उल्लङ्घन गरेको भन्दै २५ युरो जरिवाना सुनाए।
आखिर किन गरियो जरिवाना?
गेल्सेनकिर्चेन नगरपालिकाको सार्वजनिक व्यवस्था सम्बन्धी नियमको धारा १२ अनुसार बालबालिकाका खेलमैदान १४ वर्षसम्मका बालबालिकाका लागि आरक्षित छन्। वयस्कहरू आफ्ना बालबालिका वा अभिभावकत्वमा रहेका बालबालिकासँग मात्रै त्यहाँ प्रवेश गर्न पाउँछन्।
हानाले आफूलाई उक्त नियमबारे जानकारी नभएको बताएकी छन्। खेलमैदानमा अरूलाई कुनै अवरोध नगरी बेन्चमा बसेको अवस्थामा जरिवाना लगाउनुको सट्टा अन्यत्र जान आग्रह गर्न सकिने उनको भनाइ छ।
उनले जर्मन सञ्चारमाध्यमसँग कुरा गर्दै आफू अध्ययन र आर्थिक समस्याका कारण अत्यधिक दबाबमा रहेको बताएकी छन्। आफूलाई त्यसबेला केही समय एक्लै बस्न मन लागेको र कसैले रोएको नदेखोस् भन्ने चाहना रहेको पनि उनले बताएकी छन्।
जरिवाना पाएपछि हानाले अधिकारीहरूको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनका अनुसार आफू रोइरहेको देखेपछि अधिकारीहरूले पहिले आफू ठीक छु कि छैन वा कुनै सहयोग आवश्यक छ कि छैन भनेर सोध्न सक्थे।
उनले नियम उल्लङ्घन भएको भए पनि आफूलाई त्यहाँ बस्न नमिल्ने जानकारी दिएर अर्को ठाउँमा जान आग्रह गर्न सकिने बताएकी छन्।
घटनाबारे स्थानीय बासिन्दाहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन्। केहीले केही समय आराम गर्न बेन्चमा बसेकी महिलालाई जरिवाना गर्नु आवश्यक नभएको प्रतिक्रिया दिएका छन्।
नगर प्रशासनले भने गर्यो कारबाहीको बचाउ
महिलामाथि जरिवाना लगाइएको विषय सार्वजनिक भएपछि गेल्सेनकिर्चेन नगर प्रशासनले अधिकारीहरूको कारबाहीको बचाउ गरेको छ।
नगर प्रशासनका प्रवक्ता मार्टिन शुलमानले २५ युरोको जरिवानालाई तुलनात्मक रूपमा सामान्य र नियमअनुसारको कारबाही भएको बताएका छन्। अधिकारीहरूले लागू नियम पालना गराउनु आफ्नो जिम्मेवारी भएको प्रशासनको भनाइ छ।








तपाईंको विचार लेख्नुहोस्