श्रीखण्डपुर माध्यमिक विद्यालयको चार तल्ले पक्कि भवन शिल्यान्यास



मोतीराम तिमल्सिना, काभ्रे ।

भुकम्पले क्षतविक्षत बनाएको धुलिखेल नगरपालिका ५ श्रीखण्डपुर स्थित श्रीखण्डपुर माध्यमिक विद्यालयको पक्कि भवन सोमबार शिल्यान्यास गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच नयाँ बन्ने भवनको शिल्यान्यास गर्नु भएको थियो ।

‘शैक्षिक गुणस्तर कायम राख्न भौतिक पूर्वाधार सम्पन्न बनाउने उदेश्यले नगर भित्र १६ वटा विद्यालयको पुर्नर्निमाण गरिसकिएको छ भने केहि निर्माणाधिन अवस्थामा छन’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘शैक्षिक गुणस्र कायम राखी असल नागरिक उत्पादन गरी मुलुक निर्माणमा लगाउनु आजको चुनौती हो । त्यसका लागि नगरपालिका, विद्यालय, अभिभावक र विद्यार्थी सबै सचेत र सजग हुनु जरुरी छ ।’

एडिवीको सहयोगमा निर्माण हुने उक्त विद्यालय भवन चार तल्ले १६ कोठाको हुनेछ । ८ करोड रुपैया खर्च हुने विद्यालय निर्माणका लागि भएको जमिन कालोमाटोका कारण दलदल भएकाले ४८ वटा पाईलिङ्ग प्रयोग गरी निर्माण हुँदैछ । जसका कारण केहि रकम थप हुन गएको इन्जिनियर भेषराम पोखरेलले बताउनु भयो । ‘काभ्रेपलाञ्चोक जिल्लामा निर्माण भएका अधिकांश विद्यालय तिनतल्ले मात्रै थिए, श्रीखण्डपुर माध्यमिक विद्यालय मात्रै चारतल्ले निर्माण हुँदैछ’–इन्जिनियर पोरखेलले भन्नुभयो–‘विद्यालय भवन अपाङ्ग, बालमैत्रीका साथै आवश्यक फर्निचर, सोलार, ल्याव र पुस्तकालयको समेत ब्यवस्था हुने गरी निर्माण हुनेछ ।’ १८ महिनामा सम्पन्न हुने उक्त विद्यालय निर्माणका लागि अपनाईएको प्रविधिले विद्यालय भवन थप मजबुत हुने पोखरेलले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रमुख चुनौती भएकाले शिक्षकहरुको थप मेहनतको जरुरत भएको बताउनु भयो । ‘संसारमा बदलिरहेको शैक्षिक अवस्थालाई अपनाउँदै शिक्षकहरुको क्षमता बृद्धी, थप मेहनत र एमजीएमएल विधीलाई लागु गर्दै जानु पर्छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘श्रीखण्डपुर क्षेत्रका लागि नगरपालिकाको तर्फबाट ८ करोडको विद्यालय भवन, साढे ४ करोडको पक्कि पुल, साढे २ करोडको पक्कि सडक, पुरानो बजार संरक्षण तथा पार्कहरुको निर्माण लगायतका योजनाहरुलाई प्राथमिकिकरण गरि बजेट विनियोजन गरिएको छ ।’

नगरपालिकाले एडिविकै सहयोगमा पुर्नर्निमार्ण प्राधिकरण शिक्षा समन्वय इकाई मार्फत धुलिखेल नगरपालिका वडा नम्वर २ रविओपीको सेतिदेवि मावीमा भवन निर्माण गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

एडिविको सहयोगमा पहिलो चरणमा जिल्लाका १० वटा विद्यालय निर्माण भएका छन् भने दोश्रो चरणमा धुलिखेलका दुई विद्यालय श्रीखण्डपुर मावी र सेतिदेवी मावी, मण्डनदेउपुर नगरपालिकाको डेडिथुम्का मावी, पनौती नगरपालिकाको भालेश्वर मावी, रोशी गाउँपालिकाको हिमालय मावी, सरस्वती मावी भुग्देउ र लक्ष्मीनारायण मावी, पाँचखाल नगरपालिकाको अनेकोटमा रहेको ज्ञानेश्वरी मावी र सर्वमंगला मावीका भवनहरु निर्माण हुँदैछन । ७ वटा विद्यालयको रेट्रोफिटिङ्ग समेत भईरहेको शिक्षा समन्वय ईकाईका प्रमुख देवकुमार बरालले जानकारी दिनु भयो ।

विद्यालय भवन शिल्यान्यास कार्यक्रममा उपप्रमुख विमला शर्मा, पुनर्निर्माण प्राधिकरण शिक्षा समन्वय इकाईका प्रमुख देवकुमार बराल, वडा अध्यक्षहरु गंगासाग रञ्जित, रविन्द्र कर्माचार्य, नगरपालिका शिक्षा शाखाका भोजकुमार ठकुरी, वडा सदस्यहरु प्रमोदसुन्दर श्रेष्ठ, सजना खड्गी, सिता विक, भुवन श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक डिल्लीराम भट्टराई, शिक्षक शिवप्रसाद बञ्जाराले विद्यालय भवन निर्माणले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनु भएको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अशोकचन्द्र गोपाल धुँजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्