पत्रकार पण्डित पाँच घण्टापछि मुक्त



बाजुरा, (नेस) । 

नेपाल समाचारपत्रकर्मी पत्रकार दयाराम पण्डित पाँच घण्टापछि मुक्त हुनुभएको छ । उहाँ काम गर्ने संस्था त्रिवेणी साना जलविद्युत् केन्द्रमा गई विद्युत् सेवा किन नियमित नगरेको भन्दै नेकपा ओलीपक्षीय अनेरा स्ववियु, युवासंघ र प्रेस संगठनको नेतृत्वमा आएको टोलीले पत्रकार पण्डितलाई बिहान ११ बजे कोठाबाहिर तालाबन्दी गरी थुनेको थियो।

विद्युत् सेवाको सन्दर्भलाई लिएर तालाबन्दी गरे पनि केही समय यता पत्रकार पण्डितले वर्तमान ओली सरकारको उल्टो बाटो भन्ने शीर्षकमा विचार विवरण बाहिर आएपछि धम्की आएको थियो । पत्रकार पण्डित विनाकारण थुनिएपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले तालाबन्दी गर्ने उद्देश्य नभएको बताएपछि ताला खोल्ने सहमति भएको त्रिवेणी सहकारीका अध्यक्ष अशोककुमार रावलले जानकारी दिनुभयो ।यसैबीच, सुनियोजित तरिकाले नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डितलाई बन्धक गरिएकोप्रति नेपाल प्रेस युनियन बाजुराले ध्यानार्कषण भएको जनाएको छ । सो कार्यको घोर भत्र्सना गर्दै नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानार्कषण पत्र बुझाएको प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेले बताउनुभयो ।

जिल्ला सदरमुकाम मार्तडीमा रहेको विद्युत् सेवा नियमित सुचारु नभएको भन्दै नेकपा (ओली पक्ष) का कार्यकर्ताले विद्युत् प्राधिकरणको वितरण केन्द्र बाजुरामा तालाबन्दी गर्ने कार्यक्रम थियो । त्यसको केही समयपछि बिनाएजेन्डा नै सदरमुकाम मार्तडीमै रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको कार्यालयमा अनेरास्ववियुका र युवा संघका कार्यकर्ता छिरेर कार्यालय प्रमुख दयाराम पण्डितलाई सामान्य हातपात गरी बाहिर तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्