हवाई भाडा बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि हवाई भाडा पनि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले शनिबारदेखि लागू हुने गरी हवाई भाडामा वृद्धि गरेको हो । निगमले गत फागुन ४ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपियाँ बढाउने निर्णय गरेको थियो । संघले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णयअनुसार भाडादर वृद्धि भएको जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको संघले जनाएको छ । हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको संघको भनाइ छ । संघका अनुसार काठमाडौंबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० रुपियाँ वृद्धि गरिएको छ भने सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडँैं–धनगढीका लागि ९० रुपियाँ भाडा बढेको छ । त्यस्तै काठमाडौंबाट हुने पर्वतीय उडानमा ७०रुपियाँले भाडा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्