पूर्वप्रधानन्यायाधीशहरुलाई वारेस राख्न अनुमति



काठमाडौं, (नेस) ।

अदालतको अवहेलना गरेको आरोप लागेका पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठलगायतलाई वारेस राख्न बिहीबार सर्वोच्च अदालतले अनुमति दिएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले पूर्वप्रधानन्यायाधीशहरुलाई वारेस राख्न अनुमति दिएको हो ।

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई प्रभावित पार्ने उद्देश्यले बोलेको उल्लेख गर्दै अधिवक्ता धनजित बस्नेतले उहाँहरुविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो । सो मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले आफै लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
सो आदेशबमोजिम उहाँहरु केही दिनअघि सर्वोच्च अदालत आफै आई लिखित जवाफ पेस गर्नुभएको थियो ।

अदालतको अवहेलना गरेको भनी आरोप लागेकाहरुमा पूर्वप्रधानन्यायाधीशहरु श्रेष्ठ, मीनबहादुर रायमाझी अनुपराज शर्मा र सुशीला कार्की हुनुहुन्छ । उहाँहरुले आफ्नो सट्टा वारेस राखेर अदालतमा उपस्थित भई मुद्दाको प्रतिवाद गर्न माग गर्दै निवेदन दिनुभएको थियो ।यसैगरी अदालतको अवहेलना गरेको आरोप लागेका प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि वारेस राख्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्