शिक्षा पत्रकार समूहले धुलिखेलमा २१ औँ स्थापना दिवस मनायो



न्युज अफ नेपाल, काठमाडौँ ।

शिक्षा पत्रकार समूहले आफ्नो २१ औँ स्थापना दिवस मनाएको छ । काभ्रेको धुखिखेलमा आयोजित कार्यक्रममा समूहका संस्थापक अध्यक्ष राजन शर्माले शिक्षालाई पत्रकारिताको एउटा बिटका रुपमा विकास गर्न शिक्षा पत्रकार समूहको उल्लेख्य भूमिका रहेको बताउनुभएको छ ।

उहाँले शैक्षिक मुद्दा उठाउन र नीतिगत निर्णयमा समूहले उठाएका शैक्षिक मुद्दाहरु महत्वपूर्ण रहेको बताउनुभयो । नेतृत्वमा राजनीतिक रंग नदेखिनु शिक्षा पत्रकार समूहको विशेषता रहेको उल्लेख गर्दै शैक्षिक मुद्दालाई आम बहसको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

समूहका सल्लाहकारसमेत रहेका शिक्षाविद विद्यानाथ कोइरालाले शैक्षिक मुद्दा उठाउन र बहस सिर्जना गरी नीतिगत निर्णयमा पुर्याउन समूहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थीमा चौतर्फी शिक्षण सिकाईमा जोड दिनुपर्ने पनि बताउनुभयो । यस्तै समूहका पूर्व अध्यक्ष सुदर्शन घिमिरेले कोभिड १९ को संकटपूर्ण अवस्थामा पनि शैक्षिक मुद्दाहरुलाई उजागर गर्न समूहले महत्वपूर्ण भूमिका खेलेकाले आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

शिक्षा पत्रकार समूहको २१ औ स्थापना दिवसका अवसरमा बिहीबार शिक्षाविद्, शिक्षा पत्रकार र समूहका सदस्यबीच अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ । समूहका अध्यक्ष तुला अधिकारीले शिक्षा पत्रकार समूहको गौरवमय इतिहासलाई सम्मान र निरन्तरता दिँदै नयाँ कार्ययोजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्