देशभर इन्धनको मूल्य वृद्धिको विरोधमा क्याम्पस अगाडि विरोध प्रदर्शन



न्युज अफ नेपाल , काठमाडौं ।

आज देशभरका क्याम्पस अगाडि अनेरास्ववियूले इन्धनको मूल्य वृद्धिको विरोधमा विरोध प्रदर्शन गरेको छ । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू ‘रञ्जित तामाङ समूह’ ले क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।

काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको छ । प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । यसैबीच, बिहान क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शनको कार्यक्रम राखेको छ ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने कार्यक्रम छ । नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो ।त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्