लैङ्गिक समानता पत्रकारिता पुरस्कार कुँवर, लम्साल र पाख्रिनलाई



नेपाल समाचारपत्र, काठमाडौं  ।

अमेरिकामा रहेर मदरल्यान्ड नेपाल नामक संस्थाद्वारा नेपाली पत्रकारिता जगत्मा योगदान दिने प्रयोजनले स्थापना गरिएको लैंगिक समानता पत्रकारिता पुरस्कार लोकसरी कुँवर, गणेश लम्साल र कमला पाख्रिनलाई प्रदान गरिएको छ ।हाल सञ्चारिका समूहद्वारा सञ्चालित महिला खबर डट कमकी सम्पादक रहेकी कुँवरले लामो समय कैलालीमा रहेर महिला अधिकार र लैंगिक समानताका पक्षमा कलम चलाउनुभएको छ । लम्साल अन्तरजातीय विवाह गरेर सामाजिक बहिष्करणको सिकार भएर पनि निरन्तर लैंगिक समानताका लागि लेख्ने, बोल्ने र पैरवी गर्ने जुझारु पत्रकार हुनुहुन्छ । मोरङ कार्यक्षेत्र रहेका लम्साल हाल नयाँ पत्रिका दैनिकमा आबद्ध हुनुहुन्छ ।

पत्रकार पाख्रिनको कार्यक्षेत्र सिन्धुपाल्चोक हो । रेडियो कान्तिपुर र त्यही परिवारको टेलिभिजनमा स्ट्रिन्जर रहेकी पाख्रिन पछिल्लो समय जिल्लामा गएको बाढीपहिरो र दैविक विपत्तिमा महिलाका कोणबाट समाचार बनाएर निकै स्याबासी बटुल्न सफल हुनुभयो ।‘नेपाली कांग्रेसको राजनीति गर्ने मेरा बुबाले मलाई घरमा लैंगिक विभेदको महसुस हुन कहिल्यै दिनुभएन, तर मैले मेरो जिल्लामा महिलामाथि विभेद र हिंसा भएका अनगिन्ती उदाहरण देखेकी छु, म कसरी कलम नचलाई बस्न सक्छु र !–पाख्रिन नेपाल समाचारपत्रलाई बताउनुहुन्छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन समारोहमा बुधबार उहाँहरु तीनै जनालाई जनही ४० हजार रुपियाँ र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेको महाधिवेशनको उद्घाटन सत्रमा वरिष्ठ पत्रकार डा. सुरेश आचार्यलाई एक लाख रुपियाँ राशिको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार पुष्पहरि क्याम्पा राईलाई र कृष्णसेन राष्ट्रिय पत्रकारिता पुरस्कार विनोद पहाडीलाई प्रदान गरियो । यी दुवै पुरस्कारको राशि ५०–५० हजार रुपियाँको रहेको छ ।समारोहमा उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार शिल्पा कर्ण र मन्दिरा थापालाई तथा गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार रामभरत शाह र मुना हमाललाई प्रदान गरियो । पुरस्कृत व्यक्तित्वलाई १०–१० हजार रुपियाँ प्राप्त भएको थियो ।कार्यक्रममा वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतलाई रत्नकेशरी राजभण्डारी कृष्ण स्मृति पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।कार्यक्रममा कोभिड पत्रकारिता पुरस्कारबाट ३७ पत्रकार पुरस्कृत भएका थिए । उनीहरुलाई जनही १० हजार रुपियाँ प्रदान गरिएको थियो । त्यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश र पत्रकार महासंघका २४ शाखा पनि पुरस्कृत भएका छन् ।

अन्य पुरस्कार र सम्मान पत्रकार महासंघको नियमित सिलसिला भए पनि लैङ्गिक समानता पत्रकारिता पुरस्कार विशेष प्रयोजनका लागि स्थापित तथा वितरित छ । मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेको एकल प्रयासले १० लाख रुपियाँको अक्षय कोष खडा गरी वार्षिकरुपमा यो पुरस्कार प्रदान गरिन्छ । २०७७ सालको यो पुरस्कार चौथो हो । पाँच वर्षअघि पत्रकार महासंघसँग भएको सम्झौताअनुसार एक पुरुष र एक महिला पत्रकारलाई लैंगिक समानता प्रवद्र्धनका लागि उनीहरुले गरेको योगदान हेरेर प्रदान गरिन्छ ।पुरस्कारका संस्थापक पाण्डे भन्नुहुन्छ– ‘नेपालमा लैंगिक समानता र सामाजिक समावेशितालाई नेपालको संविधान, २०७२ ले संस्थागत त ग¥यो, तर यसको सामाजिक कार्यान्वयन हुनसकेको छैन, यो पुरस्कार त्यही प्रयोजनका लागि हो ।’

प्रतिक्रिया दिनुहोस्