पत्रकार पन्त र कार्कीलाई इन्जा खोजी पत्रकारिता पुरस्कार



काठमाडौं, (नेस) ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशील पन्तलाई प्रदान गरिने भएको छ ।

एक लाख रुपियाँ राशीको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्तरुपमा प्रदान गर्न लागिएको हो । पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ता कपडा खरिद सम्बन्धमा भएको अनियमिततासम्बन्धी समाचार र पत्रकार कार्कीले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरुका पीएले दशैंभत्ता लिएका समाचारलाई प्रकाशन गर्नुभएको थियो । समाचार माध्यमहरुको लगातारको निगरानीपछि छानबिन हुँदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरुले दशैंभत्ता फिर्ता गर्न बाध्य भएका थिए ।इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरुमध्येबाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ट ठहर गरेको थियो ।सोलुखुम्बुमा जन्मिएका पत्रकार कार्कीले २०६० सालदेखि विभिन्न साप्ताहिक पत्रपत्रिकामा काम गर्दै २०६४ सालमा राजधानी दैनिकबाट पत्रकारितालाई थप गति दिएका थिए ।

उनी हाल नागरिक दैनिकमा सुरक्षा, अपराध, सुशासन र राजनीतिक बिटमा निरन्तर रिपोर्टिङ गर्दै आएका छन् ।गुल्मीमा जन्मिएका पत्रकार पन्तले रेडियो पत्रकारिताबाट करियर शुरु गरेका हुन् र हाल उनी लोकान्तर डटकममा संसद्, सरकार, सुशासनलगायत थुप्रै विषयमा आफ्नो कलम चलाउँदै आएका छन् ।मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिनेछ ।इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गर्ने निर्णय गरिसकेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार भोलि घोषणा गरिने इञ्जाले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्