पक्षविपक्षको बहस सकियो

आजबाट एमिकस क्युरीको पालो



काठमाडौं, (नेस) ।

प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनको पक्ष र विपक्षबाट गरिएको बहस सोमबार सकिएको छ । आज मंगलबारबाट एमिकस क्युरी (अदालती सहयोगी)का तर्फबाट बहस प्रारम्भ हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सो कार्यविरुद्ध सर्वोच्चमा १३ थान रिट निवेदन दायर भएका थिए । गत माघ ३ गतेबाट रिट निवेदनको पक्ष र विपक्षबाट जारी भएको बहस हिजो सोमबार मात्र सकिएको छ ।सर्वोच्च अदालतले सो विवादमा सहयोग गर्नका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएनबाट क्रमशः तीन र दुई गरी पाँच एमिकस क्युरी पठाइदिन अनुरोध गरेको थियो ।

नेपाल बारबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शतीशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ताहरु पूर्णमान शाक्य र गीता पाठकलाई एमिकस क्युरीका रुपमा चयन गरी पठाएको छ ।यसअघि सरकारका तर्फबाट उठेका प्रश्नको जवाफ दिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीले गैरसंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेर राष्ट्रलाई धोका दिनुभएको बहसका क्रममा बताउनुभएको थियो ।त्यस्तै अर्का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानमा नभए पनि आफ्नो मनोमानी पूर्ण तवरबाट प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संविधानविपरीत कार्य गर्नुभएको दाबी गर्नुभएको थियो ।यसैगरी अधिवक्ता टीकाराम भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर निरङ्कुश बन्न खोजेको उल्लेख गर्दै त्यसलाई सर्वोच्च अदालतले सच्याई संविधानलाई ट्र्याकमा ल्याउनुपर्ने बताउनुभएको थियो ।

रिट निवेदनको तथ्यमा प्रवेश गरी बहस भएको ठीक एक महिनामा पक्ष र विपक्षबाट भएको बहस सकिएको हो । रिट निवेदन पक्षबाट बहस गर्नेले प्रतिनिधिसभा विघटन गरिएको कार्य संविधानविपरीत भएको दाबी गरी त्यसलाई पुनस्र्थापना गर्नका लागि अदालतसँग माग गरेका थिए । त्यस्तै सरकार पक्षबाट बहस गर्नेले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रधानमन्त्रीको अन्तर्निहित अधिकार भएको जिकिर गरेका थिए ।एमिकस क्युरीले अब दुई दिनसम्ममा बहस सकाउन सक्ने बताइएको छ । एमिकस क्युरीले बहस सकिएको केही दिनभित्रमा नै निर्णय आउन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्