कांग्रेस केन्दीय प्रतिनिधि घटनास्थलमा, पीडित परिवारलाई २ लाख सहयोग



विनोद सिंह विष्ट, बैतडी  । 

नेपाली कांग्रेसले बैतडीकी भागरथी हत्या प्रकरणको यथार्थ बुझ्नका लागि पठाइएका केन्द्रीय प्रतिनिधि रमेश लेखकले आइतबार घटनाको बारेमा स्थलगत अवलोकन गर्नुभएको छ । यसका साथै उहाँले भागरथीका परिवार, जनप्रतिनिघि र प्रहरीले गरेको अनुसन्धानका विषयमा पनि जानकारी लिनुभएको छ ।
घटनाबारे यथार्थ जानकारीका लागि स्थलगत अवलोकन, विभिन्न व्यक्तिसँग छलफल गरी प्रतिवेदन बुझाउनका लागि नेता लेखक बैतडी पुग्नुभएको हो ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले भागरथीका परिवारसँग घरमै पुगेर भेटघाट गर्नुभएको छ ।

भेटघाटका क्रममा भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘भागरथीका हत्यारा पत्ता लगाउन हामीले सम्पूर्ण सहयोग गर्छौं । राज्य पक्षलाई पनि हामीले दोषी छिटो पत्ता लगाई कारबाही गर्न आग्रह गरेका छौं ।’भागरथीका हत्यारा पत्ता लगाउने कार्य सबैको प्राथमिकतामा रहेको बताउँदै नेता लेखकले महिलामाथि हुने जुनसुकै प्रकारका हिंसाविरुद्ध आफ्नो पार्टी लागिपरेको बताउनुभयो । ‘सबैभन्दा पहिला हत्यारा पत्ता लगाउनुपर्छ’, उहाँले भन्नुभयो– ‘अहिलेको प्राथमिकता भागरथीका हत्यारा पत्ता लगाउनु हो । यसमा हामीले सक्दो सहयोग गर्नेछौं ।’ उहाँले थप्नुभयो– ‘हत्यारा पत्ता लगाउन गृहमन्त्रीलाई समेत भेटेरै आग्रह गरिसकेका छौं ।’यसैबीच नेपाली कांग्रेसले मृतक भागरथीका आमा द्रोपती भट्टलाई २ लाख नगद सहयोग प्रदान गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गर्नुभएको हो ।

मृतकका आमालाई केही सहयोग पुगोस् भनेर पार्टीका तर्फबाट सहयोग गरिएको नेता लेखकले बताउनुभयो । नेता लेखकले परिवारजनप्रति समवेदना प्रकट गर्दै अन्य आर्थिक सहयोग संकलन अभियान पनि सञ्चालन गरिने जनाउनुभयो । उहाँले भन्नुभयो– ‘आर्थिक संकलन अभियान पनि सञ्चालन गर्छांै र भागरथीको परिवारका सदस्यलाई रोजगारीका लागि पनि पहल गर्छौं ।’नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहनुभएका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारीसमेत लिनुभएको छ । भागरथी हत्याका विषयमा भइरहेको अनुसन्धानका विषयमा नेता लेखकले जानकारी लिनुभएको हो । उहाँले अनुसन्धानमा ढिलाइ नगरी छिटो दोषी पत्ता लगाउन प्रहरीसँग आग्रह पनि गर्नुभयो । जवाफमा डीआईजी सुवेदीले अनुसन्धान साघुँरिँदै गएकाले छिट्टै दोषी पत्ता लाग्ने बताउनुभयो ।

नेता लेखकले भागरथीका आफन्तसँग भेटघाट गरेपछि घटनाको विषयमा पार्टीको केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने बताइएको छ । घटनाका विषयमा पार्टीका तर्फबाट गरिएको अध्ययनको निष्कर्षसहित प्रतिवेदन बुझाउने जनाइएको छ ।गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।
शान्तिपूर्ण आन्दोलन जारी

भागरथीको न्यायका लागि बैतडीमा आन्दोलनका कार्यक्रम पनि जारी रहेका छन् । हत्यारालाई पक्राउ गर्नुपर्ने माग गर्दै बैतडीमा आँखामा पट्टी बाँधेर तथा हातमा मैनबत्ती बालेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको छ । भागरथीको न्यायका लागि गठित संघर्ष समितिको आयोजनामा प्रशासन कार्यालयअगाडि आँखामा पट्टी बाँध्नुका साथै हातमा मैनबत्ती बालेर धर्ना दिइएको हो ।सरकार हत्यारा पत्ता लगाउन सचेत बनोस् भनेर दबाब दिन संघर्ष समितिले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आइरहेको छ । यसअघि माघ २६ गते दीप प्रज्वलन, २७ गते सिठ्ठी जुलुस, २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २९ गते सदरमुकाममा प्रदर्शन, माघ ३० गते थाल ठड्याइयो भने फागुन १ गते घण्टा बजाइएको थियो ।यता भागरथीको हत्यारा पत्ता नलागेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । जिल्ला अस्पतालमा रहेको शवलाई सुरक्षित राख्न समस्या भएको अस्पतालले जनाएको छ ।

प्रहरीले साघुँरो बनाउँदै छ

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई प्रहरीले साँघुरो बनाउँदै ल्याएको बताउनुभएको छ ।नेपाल समाचारपत्रसँग कुरा गर्दै डीआईजी सुवेदीले भागरथी बलात्कार तथा हत्या घटनामा प्रहरी निकै चनाखो भएर घटनालाई साघुँरो बनाउँदै अघि बढेको बताउनुभयो । ‘कतिपय अनुसन्धानका कुरा अहिले नै भन्न सकिँदैन, भागरथी घटना निकै साँघुरो बनाउँदै ल्याएका छौं, चाँडै हत्यारा पत्ता लाग्नेमा विश्वस्त छौं।’ –उहाँले भन्नुभयो ।

भागरथीका हत्यारा तथा बलात्कारीको खोजी अनुसन्धान गर्नका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) उत्तमराज सुवेदी र प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयसहितको प्रहरी टोली बैतडीमा खटिएको छ ।उक्त घटनाका हत्यारा अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै डोटी जिल्लासहित समग्र सुदूरपश्चिममा हिजोआज दिनहुँ विद्यार्थीले आन्दोलन गरिरहेका छन् । भागरथी भट्टको हत्यारालाई चाँडो खोजी कारबाहीको माग गर्दै यहाँका सबै जिल्लामा प्रायः दैनिकजसो प्रदर्शन हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्