जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानको घोषणा



ललितपुर ।

संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गर्नुभएको छ ।

नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा उहाँहरुले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताउनुभयो ।

जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “‘म चाहान्छु, यती लामो उमेरसम्म कसरी र के कारणले मेरो शरीर स्वस्थ्य रह्यो भन्ने कुराको अनुसन्धान होस् ।” हरेक मानिसले दीर्घ जीवन पाउन पीर, चिन्ता, शोकरहित भएर सधै आ–आफ्ना कर्ममा लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीको शरीरबारे अध्ययन गरी पाएको उपलब्धीलाई मुलुकवासीले पक्कै मनन् गरी अघि बढ्ने विश्वास लिइएको भनाइ राख्नुभयो ।

प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जोशीमा महानता, सरलता र दुरदर्शी भावना रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “मेडिकल कलेजलाई लेखिएको मञ्जुरी पत्रमा १०१ वर्षीय शताब्दी पुरुष जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ताक्षर रहनाका साथै उहाँहरुका छोरा अनुराज जोशीसमेतको सहमतिको हस्ताक्षर गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्