नेपाल–भारत व्यापारमा सहजता ल्याउनुपर्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल–भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच छलफल भएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगको वर्तमान अवस्थालाई उदृत गर्दै नेपालमा लगानी गरे राम्रो नाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार गर्नको लागि परिसंघले आग्रह गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुन सक्ने अध्यक्ष मोरको धारणा थियो । नेपाल–भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ । नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धीले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको सन्दर्भ उल्लेख गर्दै त्यसलाई सहज बनाउँदै जानुपर्ने धारणा परिसंघले राखेको छ । नेपालमा उत्पादन हुने वस्तु भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकाले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ ।

त्यसैगरी अतिरिक्त डिउटिज र चार्ज भएकाले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नुपर्ने तर्क परिसंघको छ । दुतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्यान्डर्डमा दुवै देशबीचमा समस्या देखिने गरेकाले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ त्यसर्फ ध्यान दिने बताउनुभयो । यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो । नेपालमा भारतीय लगानी विस्तार गर्नको लागि दँतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने धारणा व्यक्त गर्नुभयो ।

लगानीको वातावरण तयार गर्नको लागि आगामी दिनमा परिसंघ र दुतावासबीच छलफल गरी विभिन्न क्षेत्रका अवसरलाई उजागर गरी लगानीकर्ताले चाहेको क्षेत्रमा लगानी विस्तार गर्न परिसंघले सहजीकरण गर्ने बताएको छ । उच्च प्राथमिकतामा लगानी गर्न चाहेका क्षेत्रको पहिचान गरी सोही अनुसार लगानीको आगामी मार्गचित्र तयार गर्नुपर्ने धारणा परिसंघको रहेको छ । नेपालमा वैदेशिक लगानीका क्षेत्र धेरै रहेकोले आईटी, गार्मेन्ट, शिक्षा, औषधि उत्पादनलगायतका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएकोले त्यसतर्फ पनि लगानी भित्र्याउन सकिने सम्बन्धमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्