प्रस्तावित वीर अस्पतालको अनुगमन



भक्तपुर, (नेस)  ।

चाँगुनारायण नगरपालिकाको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको भवन निर्माणस्थलको अर्थमन्त्री विष्णु पौडेललगायतको टोलीले अवलोकन गरेको छ ।

टोलीमा अर्थमन्त्री पौडेल, स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, सम्बन्धित मन्त्रालयका सचिव, चाँगुनारायणका नगरप्रमुख सोमप्रसाद मिश्र, सडक, विद्युत्, खानेपानी संस्थानलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।सो अवसरमा अर्थमन्त्री पौडेलले विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पोल विस्तार, तार जडान र ट्रान्सफर्मर राख्ने काम तत्काल गर्न निर्देशन दिनुभयो ।

सडक विभागका प्रतिनिधिलाई समेत अर्थमन्त्री पौडेले मनोहरा करिडोर हुँदै दुवाकोट आउने सडक र सल्लाघारी हुँदै वीर अस्पतालको भवन निर्माणस्थलसम्म आउने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।स्वास्थ्यमन्त्री त्रिपाठीले वीर अस्पताल दुवाकोटमा बन्नु भक्तपुरबासीको गौरव भएकाले सबैले साथ दिनुपर्ने बताउनुभयो । स्वास्थ्य राज्यमन्त्री रावतले आफू विगतदेखि भक्तपुरमा वीर अस्पताल बनाउने काममा सक्रिय हुँदै आएको बताउनुभयो ।

नगर प्रमुख मिश्रले विभिन्न निकायबीच समन्वयको अभाव हुँदा कामको थलानी हुन नसकेको बताउनुभयो ।भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २, ३ र ४को करिब ५ सय ७० रोपनी क्षेत्रफलमा वीर अस्पतालको भवन बनाउने तयारी भए पनि डीपीआरसमेत तयार हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्