जनक शिक्षालाई भ्याई नभ्याई : पाठ्यपुस्तक, मतपत्र, एसइईको प्रश्नपत्र, कक्षा १२ र लोकसेवाको उत्तरपुस्तिका एकै समयमा


–२० लाख पाठ्यपुस्तक छापेर सकियो

–मतपत्र छाप्ने विषयमा प्रारम्भिक छलफल

–समयमै सक्ने जनक शिक्षाको दाबी

भक्तपुर।

जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तकदेखि मतपत्र, एसइईको प्रश्नपत्र, कक्षा १२ र लोकसेवा आयोगको उत्तरपुस्तिकासम्म एकैसाथ छपाइ गर्ने तयारी गर्दा भ्याई नभ्याई भएको छ ।
केन्द्रले एक महिना अघिदेखि कक्षा १–१२ को पाठ्यपुस्तक छपाइ सुरु गरेको छ । लोकसेवा आयोगको उत्तरपुस्तिका छपाइ जारी छ । सम्भवतः चैतमा हुने स्थानीयतहको निर्वाचनको लागि मतपत्र छपाइ गर्ने गृहकार्य सुरु गरिसकेको छ । कक्षा १२ को उत्तरपुस्तिका छपाइ गर्ने तयारी भइरहेको छ । एसइईको प्रश्नपत्र छाप्न सुरक्षण मुद्रणालयलाई तयारी अवस्थामा राखिएको छ ।

‘लगातार कामको चापले गर्दा जनक शिक्षालाई भ्याई नभ्याई भएको छ । तैपनि कामको रफ्तार रोकिएको छैन’ –जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले भन्नुभयो । केन्द्रले एक महिनादेखि हालसम्म करिब २० लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरिसकेको छ ।

‘चाडबाडको कारण केही दिन छपाइमा कमी आएको थियो । हिजोबाट २४ घण्टा प्रेस चलिरहेको छ’ –उहाँको भनाइ थियो । कामको दबाब भए पनि समयमै पाठ्यपुस्तक पु¥याउने गरी काम गरिरहेको जनक शिक्षाको दाबी छ । आगामी शैक्षिकसत्रमा निजी प्रकाशनलाई कक्षा १, २ र ४ कक्षाको पाठ्यपुस्तक छपाइ र बिक्रीवितरण गर्ने जिम्मा दिएको छ । जनकले १–१२ को पाठ्पुस्तक छपाइ र बिक्री गर्ने अधिकार पाएको छ । जनक शिक्षाले यो वर्ष १ करोड ४० लाख पाठ्यपुस्तक छपाइ गर्ने तयारी गरेको छ ।

‘हालससम्म गत वर्षको ३० लाख स्टक र हालसम्म छपाइ सकिएको २० लाख गरी ५० लाख थान पाठ्यपुस्तक तयारी अवस्थामा छ । आवश्यताको आधारमा शैक्षिकसत्र अगावै सबै प्रदेशमा ३–३ लाख थान पाठ्यपुस्तक पु¥याएर बिक्रीको लागि तयारी अवस्थामा राख्ने योजना छ’ –महाप्रबन्धक पौडेलले भन्नुभयो ।
उहाँका अनुसार आगामी शैक्षिकसत्र अगावै पाठ्यपुस्तक छपाइ पूरा भई बिक्री गर्न तयार हुनेछ । जनक शिक्षाले पाठ्यपुस्तकसँगै सम्भवतः चैतमा हुने स्थानीय निर्वाचनको मतपत्र छपाइ गर्न गृहकार्य सुरु गरिसकेको जनाएको छ । ‘निर्वाचन आयोगमा भएको प्रारम्भिक छलफलमा जनक शिक्षाले मतपत्र छपाइमा कुनै समस्या नभएको जनाएको छ । ‘हामीले छलफल गरिसकेका छौँ, विगतकै जस्तै काम हो । मतपत्र छपाइमा कुनै समस्या नभएको जानकारी गराइसकेका छौँ’ –जनक शिक्षाका प्रबन्ध सञ्चालक पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

जनक शिक्षामा मतपत्र र एसइईको प्रश्नपत्र छाप्न छुट्टै सुरक्षण मुद्रणालय छ । गोप्य काम गर्न ५ र पुस्तक छाप्न ५ गरी १० वटा मेसिन तयारी अवस्थामा छन् । उहाँले भन्नुभयो– ‘खासै समस्या छैन, सबै काम तोकेकै समयमा पूरा गर्नेछौँ, कुनै समस्या छैन । केही कर्मचारी ज्यालादारीमा प्रयोग गर्नुपरे पनि कुनै समस्या छैन ।’ सरकारको निर्देशनअनुसार आफ्नो जिम्मेवारीमा परेको सबै काम गर्न जनक शिक्षाले सबै तयारी गरेको छ । ‘क्यालेण्डरअनुसार काम सुरु गरेका छौँ । कुनै पनि काम गर्न बाधा पर्ने अवस्था छैन’ –प्रबन्ध सञ्चालक पौडेलको भनाइ थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।