प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता

सहकार्यको नयाँ अपेक्षा, राष्ट्रिय हितका पुरानै चुनौती


काठमाडौँ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता हुँदैछ । यो भेटले नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ । करिब नौ महिनाअघि सत्ता सम्हालेको नयाँ राजनीतिक नेतृत्वले भारतसँगको सम्बन्धलाई व्यावहारिक सहकार्य र आर्थिक साझेदारीमा केन्द्रित गर्न खोजिरहेका बेला हुन लागेको यो भेटवार्तामा हवाई प्रवेशमार्ग, आर्थिक सहयोग, ऊर्जा व्यापार, पूर्वाधार र सम्पर्क सञ्जाल प्रमुख एजेन्डा छन् । तर, सीमा विवाद, जलस्रोतको बाँडफाँट र व्यापार असन्तुलनजस्ता दीर्घकालीन समस्यामा कस्तो प्रगति हुन्छ भन्ने प्रश्नको जवाफ भने भेटपछि मात्र पाइनेछ । भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतवार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले आज मोदीसँग हैदरावाद हाउसमा एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार आज अपरान्ह १२ः२५ मा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच सहमति तथा सम्झौता आदानप्रदान हुने र त्यसपछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसअघि बिहान १० बजे नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली गर्ने कार्यक्रम रहेको छ ।

हिजो आइतवार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले साँझ ६ बजे होटल ताजमा भेटवार्ता गर्नुभएको थियो । करिब आधा घण्टा लामो भेटमा भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री शाहको आज हुने औपचारिक कार्यक्रमका साथै सहमति, सम्झौता र शिलान्यासका विषयमा जानकारी गराउनुभएको बताइएको छ । भेटपछि भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमा नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताको रूपमा लिएको उल्लेख गर्नुभएको थियो । प्रधानमन्त्री शाहलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा नेपालबाट गएका परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च पदस्थ सरकारी अधिकारी र पत्रकार गरी ३४ सदस्य र भारतमै रहेका भारतका लागि नेपाली राजदूत र नेपाली दूतावासका कर्मचारीहरू छन् । प्रधानमन्त्रीको भ्रमण टोलीको रूपमा ५१ सदस्यीय व्यवसायीहरूको टोली र केही निजी सञ्चारमाध्यम प्रतिनिधिहरू पनि आफ्नै खर्चमा नयाँदिल्ली पुगेका छन् ।

शाहको यो भ्रमण प्रधानमन्त्री बनेपछि पहिलो द्विपक्षीय विदेश भ्रमण हो । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन यसअघि न्यूयोर्क गए पनि भारत भ्रमणलाई सरकारले औपचारिक द्विपक्षीय राजकीय भ्रमणका रूपमा अघि बढाएको छ ।

हवाई मार्ग र दुई अर्ब डलरको प्रस्ताव

नेपालले यस भ्रमणमा उठाउन खोजेका विषयमध्ये हवाई कनेक्टिभिटी र आर्थिक सहयोग विशेष प्राथमिकतामा छन् । नेपालको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुमा हवाई प्रवेशमार्गको सीमितता पनि एउटा कारण मानिएको छ । पश्चिमतर्फबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि थप सहज मार्ग आवश्यक रहेको भन्दै नेपालले भारतसँग लामो समयदेखि आग्रह गर्दै आएको छ ।

विशेषतः काठमाडौँ–महेन्द्रनगर जोड्ने एल–६२६ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्नुपर्ने नेपालको माग छ । अहिले यो मार्गबाट अन्तर्राष्ट्रिय विमान नेपालबाट बाहिरिन सक्छन्, तर सोही मार्ग हुँदै नेपाल प्रवेश गर्न पाउँदैनन् । भैरहवा र पोखराका लागि पनि थप हवाई प्रवेशमार्ग आवश्यक रहेको नेपालको अडान छ । भारत भ्रमणको तयारीका क्रममा भारतीय पक्षसँगको छलफलमा यी विषय उठे पनि भ्रमणअघि नै सहमति जुटिसकेको अवस्था भने छैन ।

यसबीच भारतले पनि आफ्नो बागडोगरा विमानस्थल र रक्सौलतर्फका उडानका लागि नेपाली हवाई क्षेत्र उपयोग गर्न चाहेको विषय छलफलमा आएको छ । नेपाल बागडोगरासम्बन्धी प्रस्तावमा सकारात्मक देखिए पनि रक्सौलको विषयमा थप अध्ययन आवश्यक रहेको बताइएको छ । हवाई मार्गको विषय एकतर्फी सुविधा वा सहुलियतको प्रश्न मात्र होइन, दुवै देशका उड्डयन सुरक्षा, प्राविधिक मापदण्ड र पारस्परिक लाभसँग जोडिएको विषय हो ।

हवाई क्षेत्रको प्रयोगबारे सैन्य विमानको विषय पनि सार्वजनिक बहसमा आएको छ । भारतले बागडोगरा प्रवेशमार्गमा सैन्य विमानसमेत प्रयोग गर्न सक्ने प्रस्ताव राखेको र नेपालले नागरिक उडानमा मात्र सहमति जनाउन सक्ने स्पष्ट पारेको चर्चा पनि भ्रमणको क्रममा चुलिएको छ । तर भारतीय स्रोतले भने नेपाली हवाई क्षेत्र सैन्य विमानका लागि प्रयोग गर्ने कुनै प्रस्ताव नरहेको दाबी गरेका छन् ।

नेपालले भारतसँग अनुदान र सहुलियतपूर्ण ऋण गरी दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रस्ताव गरेको चर्चा पनि उतिकै चुलिएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, सडक तथा विकास आयोजनामा लगानी परिचालन गर्न यस्तो प्रस्ताव अघि सारिएको र भारतले प्रस्तावप्रति सकारात्मक संकेत दिएको समाचार आए पनि भ्रमणअघि नै रकम स्वीकृत भइसकेको वा सम्झौता टुंगिएको अवस्था छैन । त्यसैले मोदीसँगको वार्तामा यो प्रस्ताव कति रकम र कुन वित्तीय ढाँचामा अघि बढ्छ भन्ने महत्वपूर्ण हुनेछ ।

सम्बन्ध सुधारको संकेत, तर पुराना असहमति कायमै

बालेन नेतृत्वको सरकार र भारतबीचको सम्बन्धलाई पछिल्लो समय पुनः सक्रिय बनाउने प्रयास देखिएको छ । सरकार गठनपछि राष्ट्रिय स्वतन्त्र पार्र्टीका सभापति रवि लामिछानेको भारत भ्रमण, अर्थमन्त्री वाग्लेको दिल्ली भ्रमण, परराष्ट्रमन्त्री खनालको कूटनीतिक संवाद र भारतीय विदेश सचिव विक्रम मिश्रीको काठमाडौँ भ्रमणले उच्चस्तरीय भेटघाटको पृष्ठभूमि तयार गरेको हो । प्रधानमन्त्री शाहको भारत भ्रमण त्यसैको निरन्तरता हो ।

काठमाडौँ महानगरपालिकाको मेयर हुँदा ‘ग्रेटर नेपाल’को नक्सा सार्वजनिक गरेर राष्ट्रियतासम्बन्धी बहसको केन्द्रमा आएका शाह प्रधानमन्त्री भएपछि भारतसँगको सम्बन्धमा तुलनात्मक रूपमा व्यावहारिक र संवादमुखी शैलीमा प्रस्तुत हुनुभएको छ । संसद्मा सीमा विवादबारे बोल्दा दुवै देशबाट एकअर्काको भूभागमा अतिक्रमण भएको हुन सक्ने र मित्रवत् ढंगले समीक्षा गर्नुपर्ने आशय व्यक्त गर्नुलाई पनि उहाँको बदलिँदो राजनीतिक भाष्यको संकेतको रूपमा लिन सकिन्छ । यद्यपि, कूटनीतिक व्यवहारमा आएको नरमपनलाई राष्ट्रिय सरोकारका मुद्दाबाट पछि हटेको अर्थमा बुझ्न मिल्दैन । सम्बन्ध सहज बनाउने प्रयासको सफलता दुवै पक्षले एकअर्काका संवेदनशीलता र राष्ट्रिय हितलाई कति सम्मान गर्छन् ? भन्नेबाट मापन हुन्छ ।

सीमा विवाद भने भ्रमणको औपचारिक एजेन्डाबाट बाहिर राखिएको समाचार सार्वजनिक भएको छ । प्रधानमन्त्रीको निर्देशनपछि विवादित विषयलाई औपचारिक छलफलको सूचीमा नराखिएको अनौपचारिक जानकारी बाहिरिएको छ ।

ऊर्जा सहकार्य पनि भ्रमणको अर्काे महत्वपूर्ण पक्ष हो । नेपालले जलविद्युत् उत्पादन बढाउँदै भारत र बंगलादेशसम्म विद्युत् निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ । तर, विद्युत् व्यापारका लागि आवश्यक प्रसारण पूर्वाधार, बजार पहुँच र आयोजनासम्बन्धी नीतिगत सहमति अझै चुनौतीपूर्ण छन् । तल्लो अरुणजस्ता आयोजना अघि बढाउने विषयसँगै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना पनि लामो समयदेखि अनिर्णयको बन्दी बनेको छ । महाकाली सन्धिपछि अघि बढ्नुपर्ने पञ्चेश्वरमा पानीको बाँडफाँट, लाभको मूल्यांकन, लगानी र तल्लो तटीय लाभसम्बन्धी असहमति कायमै छन् ।

यस्ता छन् समझदारीपत्र र शिलान्यासको कार्यक्रम

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ । कनेक्टिभिटी र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ आयोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ । जनकपुर–अयोध्या रेल सेवा, दार्चुला पुल, भैरहवा एकीकृत जाँच चौकी र पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठानसँग सम्बन्धित परियोजना भ्रमणका सम्भावित उपलब्धिका रूपमा चर्चामा छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।