अर्बौं रुपैयाँ बचतको बाटोमा संवैधानिक र कानुनी गाँठो


काठमाडौँ।

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै पटक गराउँदा राज्यको तीनदेखि पाँच अर्ब रुपैयाँसम्म बचत हुन सक्ने देखिए पनि कार्यकालको समय नमिल्दा संवैधानिक र कानुनी गाँठो फुकाउनुपर्ने चुनौती थपिएको छ ।

स्थानीय तह र प्रदेशसभाको कार्यकाल सकिने समय करिब छ महिनाले फरक भएकाले दुवै निर्वाचन एकै पटक गराउने प्रस्तावको संवैधानिक तथा कानुनी आधार स्पष्ट हुनसकेको छैन। २०७२ सालको संविधान जारी भएपछि गत वर्ष फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाहेक अहिलेसम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक हुँदै आएको छ । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक अहिलेसम्म भएको छैन । अहिले निर्वाचन एकीकृत गर्ने बहससँगै त्यससम्बन्धी संविधान र निर्वाचनसम्बन्धी कानुन संशोधन गर्नुपर्ने वा मौजुदा व्यवस्थाको व्याख्या गर्नुपर्ने विषय पनि उठेको छ ।

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । त्यसबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल २०८४ वैशाखमा समाप्त हुनेछ । संविधानको धारा २२५ मा स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद–२ अन्तर्गत दफा ३ को उपदफा (१) मा सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ भन्ने व्यवस्था रहेको छ । प्रदेशसभाको निर्वाचन भने २०७९ मंसिर ४ गते भएको थियो र त्यसको कार्यकाल २०८४ मंसिरमा सकिनेछ । नेपालको संविधानको धारा १७७ मा प्रदेशसभाको कार्यकाल सामान्य अवस्थामा पाँच वर्ष हुने भनी भनिएको छ ।

गृह मन्त्रालयका अनुसार अहिले मुख्यतः दुई विकल्प माथि छलफल भइरहेको छ । पहिलो, स्थानीय तहको कार्यकाल २०८४ वैशाखमा समाप्त भएपछि असोजमा स्थानीय तह र प्रदेशसभा निर्वाचन एकै पटक गराउने । दोस्रो, आगामी चैतमै दुवै निर्वाचन गराएर प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको कार्यकाल मंसिरबाट सुरु गर्ने व्यवस्था मिलाउने ।

पहिलो विकल्पमा स्थानीय तहको कार्यकाल समाप्त भएपछि नयाँ निर्वाचन नहुँदासम्म केही महिना जनप्रतिनिधिविहीन रहने अवस्था आउन सक्ने वा कार्यकाल समाप्त भएपछि पुरानै जनप्रतिनिधिले काम गर्ने व्यवस्था कानुनमा स्पष्ट गर्नुपर्ने देखिएको बताइएको छ । दोस्रो विकल्पमा भने प्रदेशसभाको कार्यकाल पूरा हुनुअघि नै निर्वाचन गराउने विषय संवैधानिक हिसाबले चुनौती रहेको छ ।

निर्वाचन एकीकृत गर्ने विषयमा यस्तै नै गर्ने हो भनेर निर्णय भएको छैन । अहिले खाली त्यसको कानुनी, राजनीतिक र प्राविधिक सम्भाव्यता अध्ययनको चरणमै रहेको छ ।’ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले भन्नुभयो । नेकपा एमाले प्रचारप्रसार विभाग प्रमुख निरज आचार्यले दुवै निर्वाचन एकै पटक गराउन संविधान संशोधन आवश्यक पर्न बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधन नगरी स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर दुवै निर्वाचन एकै पटक गराउन सकिने धारणा अघि सारेको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार संविधानले स्थानीय तहको कार्यकाल समाप्त भएको छ महिनाभित्र निर्वाचन गराउने बाटो दिएको हुँदा ऐन संशोधनबाट समय मिलाउन सकिन्छ ।

प्राविधिक, कानुनी, राजनीतिक र वित्तीय दृष्टिकोणबाट स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै पटक गर्न सकिन्छ । त्यसका लागि संविधान संशोधन आवश्यक नपर्ने गरी मौजुदा कानुनमा सुधार र राजनीतिक सहमति कायम गरेर संयुक्त निर्वाचनको बाटो खोल्न सकिन्छ ।’ पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो ।

थपलियाले प्रदेशसभाको निर्वाचनलाई अगाडि सारेर स्थानीय तहसँगै गराउने वा प्रदेशसभाको निर्वाचन निर्धारित समयमा गरेर स्थानीय तहको निर्वाचनलाई त्यससँग मिलाउने दुई विकल्प प्रस्तुत गर्नुभएको छ । दोस्रो विकल्पमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त भए पनि अर्को निर्वाचित प्रतिनिधि नआएसम्म पुरानै जनप्रतिनिधिले काम गर्न पाउने व्यवस्था स्पष्ट गर्नुपर्ने थपलियाको भनाइ रहेको छ ।

पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि कानुनी व्यवस्था मिलाएर दुवै निर्वाचन एकै पटक गराउन सकिने बताउनुभयो । संयुक्त निर्वाचनले राज्यलाई आर्थिक रूपमा लाभ पु¥याउन सक्छ र आवश्यक परे अध्यादेशमार्फत कानुनी व्यवस्था मिलाउन सकिन्छ ।’ उहाँले भन्नुभयो ।

दुई पटक निर्वाचन गराउँदा सुरक्षा व्यवस्थापन, म्यादी प्रहरी भर्ती, कर्मचारी परिचालन, तालिम, यातायात, पोसाक, भत्ता र मतदान केन्द्र व्यवस्थापनमा खर्च दोहोरिने आयोगले जनाएको छ । गृह मन्त्रालयका अनुसार दुवै निर्वाचन एकै पटक गराउँदा करिब तीनदेखि चार अर्ब रुपैयाँ बचत हुन सक्ने अनुमान रहेको छ । पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार करिब पाँच अर्ब रुपैयाँ बचत हुन सक्ने छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।