नेताहरु भ्रष्टाचार अनुसन्धानको घेरामा

पूर्वप्रधानमन्त्रीदेखि पूर्वसभामुख र पूर्वमन्त्रीसम्ममाथि अनुसन्धान अघि बढ्दै


माधव नेपालमाथि जग्गा अनियमितताका दुई मुद्दा, पूर्वश्रममन्त्रीहरू पक्राउ, सोडारी र महरामाथि पनि भ्रष्टाचार मुद्दा; विगतका बहुचर्चित भ्रष्टाचार प्रकरणले राजनीतिक नेतृत्वको सुशासनमाथि गम्भीर प्रश्न

काठमाडौं।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरू एकपछि अर्को गर्दै भ्रष्टाचार, अनियमितता, गैरकानुनी सम्पत्ति आर्जन, ठगी तथा संगठित अपराधसम्बन्धी प्रकरणमा तानिएका छन् । पूर्वप्रधानमन्त्रीदेखि पूर्वसभामुख, पूर्वमुख्यमन्त्री र पूर्वमन्त्रीसम्म अनुसन्धान तथा न्यायिक प्रक्रियामा तानिएपछि पार्टी नेतृत्वको राजनीतिक तथा नैतिक आचरणमाथि गम्भीर प्रश्न उठेको छ ।

सुशासन, सामाजिक न्याय, समानता र भ्रष्टाचार नियन्त्रणको नारा दिँदै आएका राजनीतिक दलका प्रभावशाली नेताहरू नै अनियमितताका आरोपमा मुछिन थालेपछि राजनीतिक नेतृत्वप्रति नागरिकको विश्वास थप कमजोर हुने जोखिम बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), विशेष अदालतलगायत निकायमा पुगेका विभिन्न प्रकरणले राजनीतिक नेतृत्वको निर्णय प्रक्रिया र सार्वजनिक सम्पत्तिको संरक्षणमाथि प्रश्न उठेको छ ।

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा : मन्त्रिपरिषद्को निर्णय नै अनुसन्धानको केन्द्रमा

पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जली योगपीठको जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाल अर्को सार्वजनिक जग्गा अनियमितता प्रकरणमा तानिनु भएको छ ।
अख्तियारले गत कात्तिक १७ गते पूर्वप्रधानमन्त्री नेपाल, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालसहित ९७ जनालाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रिजाल क्यानिङ एन्ड कम्पनीका नाममा रहेको ५९ बिघा ९ कठ्ठा १२ धुर जग्गा सट्टापट्टा गर्ने क्रममा राज्यलाई नोक्सानी पु¥याइएको अभियोगमा ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । उद्योग सञ्चालनका लागि हदबन्दी छुटअन्तर्गत प्राप्त जग्गालाई कानुनविपरीत सट्टापट्टा गर्न अनुमति दिइएको अख्तियारले आरोप लगाएको छ ।

नेपाल प्रधानमन्त्री रहेको समयमा २०६६ मंसिर १६ गतेको मन्त्रिपरिषद् बैठक तथा पुस १६ गतेको मन्त्रिपरिषद्को सामाजिक समितिको निर्णयबाट उक्त प्रक्रिया अगाडि बढाइएको थियो । उक्त प्रकरणमा तत्कालीन राजनीतिक नेतृत्वसँगै उच्च तहका प्रशासनिक अधिकारी तथा कम्पनीसँग सम्बन्धित व्यक्तिहरूलाई समेत प्रतिवादी बनाइएको छ ।

पतञ्जली प्रकरणमा १८ करोड ५८ लाख बिगो

यसअघि अख्तियारले २०८२ जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली योगपीठको जग्गा अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । काभ्रेपलाञ्चोकमा पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न र पछि बिक्री गर्न दिइएको अनुमतिका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।

कम्पनीको घोषित उद्देश्य र भूमिसम्बन्धी कानुनी व्यवस्थाविपरीत जग्गा खरिद–बिक्री गर्न विभिन्न सरकारी निकाय तथा मन्त्रिपरिषद्सम्मबाट निर्णय गराइएको अख्तियारको आरोप छ ।

दुई पूर्वश्रममन्त्री पक्राउ : एक अर्ब ६९ करोडको कारोबार अनुसन्धानमा

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरिएको प्रकरणमा दुई पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पूर्वमन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई पक्राउ गरेको हो ।

पूर्वमुख्यमन्त्री सोडारीमाथि गैरकानुनी सम्पत्ति आर्जनको आरोप

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध पनि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले २०८२ जेठ १९ गते सोडारीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
सार्वजनिक पदमा रहँदा वैधानिक आम्दानीको तुलनामा स्रोत पुष्टि हुन नसकेको सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोग छ । सोडारी तत्कालीन नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका थिए । संघीय सरकारको नेतृत्व गरिसकेका नेतासँगै प्रदेश सरकारको नेतृत्व सम्हालेका व्यक्तिसमेत भ्रष्टाचार अनुसन्धानमा तानिनुले प्रदेशस्तरमा आर्थिक पारदर्शिता र जवाफदेहिताको आवश्यकता पनि देखाएको छ ।

पूर्वसभामुख महरा सुन प्रकरणमा

पूर्वसभामुख कृष्णबहादुर महरा पनि विद्युतीय चुरोट (भेप) मार्फत भित्र्याइएको सुन प्रकरणमा भ्रष्टाचार मुद्दाको सामना गरिरहेका छन् । अख्तियारले २०८२ चैत २६ गते महरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसहित २८ जना र एउटा कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

भन्सारमा रहेका पदाधिकारी तथा कर्मचारीको मिलेमतोमा सुन तस्करीलाई सहयोग पु¥याइएको र सार्वजनिक सम्पत्तिमा नोक्सानी भएको अख्तियारको आरोप छ । ७३० थान भेपभित्र लुकाएर ल्याइएको करिब साढे आठ किलो सुनसँग सम्बन्धित उक्त प्रकरणमा सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको छ ।

महरा यसअघि सभामुख पदमा बहाल रहँदा संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ पर्नुभएको थियो । नेपालमा राजनीतिक नेतृत्व भ्रष्टाचार प्रकरणमा तानिएको यो पहिलो घटना भने होइन । विगतमा नेपाली कांग्रेस, मधेसकेन्द्रित दल तथा अन्य राजनीतिक दलका प्रभावशाली नेताहरू पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् ।

खुमबहादुर खड्का : भ्रष्टाचारमा डेढ वर्ष कैद

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले २०६९ साउन ३० गते गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा दोषी ठहर गरेको थियो ।

सार्वजनिक पदमा रहँदा आफ्नो वैधानिक आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अदालतले खड्कालाई डेढ वर्ष कैद, ९४ लाख ७४ हजार १२२ रुपैयाँ जरिवाना तथा सोही बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । खड्का कैद सजाय भुक्तान गरी जेलमुक्त हुनुभएको थियो । उहाँको २०७४ सालमा निधन भइसकेको छ ।

चिरञ्जीवी वाग्ले : दुई करोडभन्दा बढी जरिवाना

नेपाली कांग्रेसका पूर्वमन्त्री चिरञ्जीवी वाग्ले पनि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका नेता हुनुहुन्छ । सार्वजनिक पदमा रहँदा आर्जन गरेको सम्पत्तिको वैधानिक स्रोत पुष्टि गर्न नसकेको ठहर गर्दै सर्वोच्च अदालतले उहाँलाई एक वर्ष छ महिना कैद र दुई करोड तीन लाख पाँच हजार ६४७ रुपैयाँ ७४ पैसा जरिवाना तोकेको थियो ।
वाग्लेको मुद्दा उच्च राजनीतिक पदमा रहेका व्यक्तिको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धान र न्यायिक कारबाहीको महत्वपूर्ण उदाहरण हो ।

जयप्रकाश गुप्ता : बहालवाला मन्त्री हुँदै जेल

मधेसकेन्द्रित राजनीतिका प्रभावशाली नेता तथा तत्कालीन सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई सर्वोच्च अदालतले २०६८ फागुन ९ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।

अदालतले गुप्तालाई ८४ लाख नौ हजार ९२८ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै डेढ वर्ष कैद, बिगो बराबरको जरिवाना र गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्ने फैसला गरेको थियो ।

बहालवाला मन्त्री रहेकै अवस्थामा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर जेल जानुपरेको उक्त घटना नेपालको राजनीतिक इतिहासमा विशेष चर्चाको विषय बनेको थियो । बहालवाला मन्त्री रहेकै अवस्थामा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर जेल जानुपरेको उक्त घटना नेपालको राजनीतिक इतिहासमा विशेष चर्चाको विषय बनेको थियो ।

गोविन्दराज जोशी : दुई दशकपछि सर्वोच्चबाट दोषी ठहर

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले २०८१ साउन १३ गते गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।
अख्तियारले २०६० सालमै उहाँविरुद्ध भ्रष्टाचार मुद्दा अगाडि बढाएको थियो । विशेष अदालतबाट दोषी ठहर भएका जोशीको पुनरावेदनमाथि लामो समयपछि सर्वोच्च अदालतले फैसला गर्दै नौ महिना कैद र करिब ६९ लाख रुपैयाँ जरिवाना तोकेको थियो । पछिल्लो समय ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअन्तर्गत उहाँले बाँकी कैद कारागारमा बसेर भुक्तान गर्न नपर्ने आदेश प्राप्त गर्नुभएको थियो ।

बद्रीप्रसाद न्यौपाने : फनपार्क जग्गा प्रकरणमा साढे नौ वर्ष कैद

पूर्वमहिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने पनि सार्वजनिक जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेता हुनुहुन्छ । समाज कल्याण परिषद्को स्वामित्वमा रहेको काठमाडौंको भृकुटीमण्डपस्थित जग्गा फनपार्क सञ्चालनका लागि न्यून मूल्यमा भाडामा दिई राज्यलाई आर्थिक नोक्सानी पु¥याएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०७९ फागुनमा न्यौपानेलाई दोषी ठहर गर्दै साढे नौ वर्ष कैद सजाय सुनाएको थियो ।

टेकबहादुर गुरुङ : भ्रष्टाचारमा दोषी ठहर

नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ पनि भृकुटीमण्डप फनपार्क प्रकरणमा विशेष अदालतबाट दोषी ठहर हुनु भएको थियो । उक्त प्रकरणमा विशेष अदालतले गुरुङबाट एक करोड २१ लाख ८४ हजार रुपैयाँभन्दा बढी बिगो तथा सोही बराबरको जरिवाना असुल गर्ने फैसला गरेको थियो । पछि सर्वोच्च अदालतले उहाँको सांसद पदको निलम्बन फुकुवा गर्ने आदेश दिएको थियो ।

जग्गादेखि सुन र वैदेशिक रोजगारीसम्म राजनीतिक नेतृत्वमाथि प्रश्न

राजनीतिक नेतृत्वमाथि लागेका भ्रष्टाचारका अभियोगको प्रकृति हेर्दा सार्वजनिक जग्गा, सरकारी सम्पत्ति, गैरकानुनी सम्पत्ति आर्जन, सुन तस्करी, सरकारी निर्णय तथा वैदेशिक रोजगारीसँग सम्बन्धित विषय प्रमुख देखिएका छन् ।

विगतमा अधिकांश चर्चित राजनीतिक भ्रष्टाचार मुद्दा अकुत सम्पत्ति आर्जनसँग सम्बन्धित थिए । पछिल्लो समय भने मन्त्रिपरिषद्का निर्णय, सार्वजनिक जग्गाको व्यवस्थापन, निजी व्यवसायलाई दिइने सुविधा तथा प्रशासनिक निर्णय प्रक्रियासमेत अनुसन्धानको विषय बन्न थालेका छन् ।
यसले सरकारी निर्णय कसको हितमा गरिन्छ, निर्णय गर्दा कानुनी प्रक्रिया पालना हुन्छ कि हुँदैन र सार्वजनिक सम्पत्तिको संरक्षणमा राजनीतिक नेतृत्व कति जिम्मेवार छ भन्ने प्रश्नलाई थप महत्वपूर्ण बनाएको छ ।

नेकपामाथि राजनीतिक र नैतिक चुनौती

जनताको अधिकार, श्रमिकको हित, सामाजिक न्याय र आर्थिक समानताको मुद्दा उठाउँदै आएको कम्युनिस्ट नेतृत्वमाथि नै सार्वजनिक सम्पत्ति हिनामिना र श्रमिक ठगीसम्बन्धी आरोप लाग्नु पार्टीका लागि गम्भीर राजनीतिक चुनौती हो ।

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध दुईवटा भ्रष्टाचार मुद्दा दायर हुनु, पूर्वमन्त्री कुँवर पक्राउ पर्नु तथा पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा चल्नुले पार्टीभित्र पारदर्शिता र आन्तरिक अनुशासनको विषयलाई प्राथमिकतामा ल्याएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।