फरक शैली र प्रस्तुतिका कारण फिल्म ककाकिकीको ट्रेलर सार्वजनिक भएको ५ दिनमै दर्शकमाझ उल्लेख्य चर्चा बटुलेको छ। युट्युबमा ५ दिनमै १० लाखभन्दा बढी पटक हेरिएको ट्रेलरले सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकका प्रतिक्रियाले फिल्मप्रति प्रदर्शनअघि नै उत्सुकता बढाएको देखिन्छ भने हालसम्म ११ लाख बढीले हेरिसकेका छन्।
ट्रेलरमा आएका सयौं प्रतिक्रियामध्ये अधिकांशले यसको प्रस्तुति, दृश्य संयोजन र कथावस्तुको प्रशंसा गरेका छन्। ट्रेलर हेरेपछि फिल्म प्रदर्शनको प्रतीक्षा गरिरहेको दर्शकको प्रतिक्रिया पनि उत्तिकै देखिन्छ। एक युट्युब प्रयोगकर्ताले ट्रेलरलाई अनौठो र सिनेम्याटिक भन्दै बिक्की अग्रवाल तथा उनको टिमबाट अपेक्षा गरिएअनुसार उत्कृष्ट काम भएको प्रतिक्रिया दिएका छन्। अर्का दर्शकले ट्रेलर प्रस्तुत गर्ने शैलीलाई नौलो भन्दै यस्तो प्रस्तुति विदेशी फिल्ममा मात्रै देखेको उल्लेख गरेका छन्। उनीहरूले फिल्मप्रति उत्साहसमेत व्यक्त गरेका छन्। निर्देशक बिक्की अग्रवालले ट्रेलरमै अपनाएको फरक शैलीले दर्शकको ध्यान तानेको छ। परम्परागत ट्रेलर प्रस्तुतिभन्दा भिन्न दृश्य संयोजन र कथावाचनको प्रयोगले ककाकिकीलाई चर्चामा ल्याएको हो।
युट्युब भ्युजसंगै फिल्मको ट्रेलर नेपालका युट्युब मुभिज ट्रेन्डिङको तेस्रो स्थानमा समेत पुगेको छ। उक्त सूचीको पहिलो स्थानमा बलिउड फिल्म मातृभूमिको ट्रेलर छ भने दोस्रो स्थानमा नेपाली फिल्म बाटुलो जून रहेको छ।
फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटालगायतका कलाकारले अभिनय गरेका छन्।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशन रहेको फिल्मका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। सुमन अग्रवालको कन्सेप्टमा बनेको फिल्ममा लेखन बिक्की अग्रवाल, विकाश अर्याल र सरोज भण्डारीको छ। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट प्रोडक्टरको जिम्मेवारी सम्हालेका छन्। सुदीप बरालले छायांकन गरेको फिल्म आगामी शुक्रवार रिलिजमा आउँदैछ।








तपाईंको विचार लेख्नुहोस्