‘देशै रमाईलो’ भन्दै मगर युवा-युवती



रामधन राई, खोटाङ ।

‘देशै रमाईलो’ भन्दै डुम्रेका मगर युवायुवती हुर्रामा रमाईरहँदा दम्कुमा साकेलाको ढोल झ्याम्टा गुन्जिरहेको थियो । यता, देउराली मावि, नजिकैको वडा कार्यालयस्थित प्राङ्गणमा एकै खालको सारी चोलीमा संगिनी रमाईरहेको देखिन्थ्यो ।

‘देउराली देवि र बुद्दको गुम्वा डाँडैमा स्कुल,
हे मेरा संगी,कटहरे बेंसीको हरियो फाँट
तीन महिने कमाई भित्रिन्छ हजुर संगी
अन्नको भण्डार ! ’

खोटाङको रावाबेंसी गाउँपालिका–४ डुमे्र देउरालीका महिलाहरुले संगीनि गीतमार्फत यस्तै भौगोलिक अवस्थिती सहित सांस्कृतिक सहिष्णुता बोलिरहका थिए ।

सन्दर्भ थियो गाउँपालिकाको आर्थिक लगानीमा निर्माणाधिन बृत्तचित्रको छायाँङकनको । हलेसी न्युज नेटवर्कको सहकार्यमा निर्माणाधिन बृत्तचित्रमा गाउँपालिकाका वडाहरुले लोपोन्मुख मौलिक संस्कृतिहरुलाई समेत प्राथमिकतामा राखेर संरक्षण, प्रवद्र्दनका लागि बृत्तचित्रमा समाबेश गर्न तम्सिएका छन् । सवै जाति–समुदायका लोपोन्मुख मौलिक संस्कृतिलाई संरक्षण गर्न वडा कार्यालय लागि परेको ४ नम्वर वडाका अध्यक्ष ज्ञानवहादुर पाण्डेले वताउनुभयो । आगामी आर्थिक बर्षदेखि सबै समुदायका मौलिक संस्कृति संरक्षण तथा प्रबद्र्दनका लागि वडावाट कार्यक्रम अघि सार्ने अध्यक्ष पाण्डेको भनाई छ ।

मगर समुदायको सवैभन्दा बढी वसोवास रहेको गाउँपालिकामा मगरहरुको हुर्रा नाच लोप हुँदै गएकोमा गाउँ कार्यपालिका सदस्य पुण्यकुमारी मगरले चिन्ता ब्यक्त गर्नुभयो । पछिल्लो पुस्ताका मगर वालवालिका तथा युवायुवतीलाई मौलिक हुर्रा नाचप्रति चासो जगाउनका साथै संरक्षणमा अग्रसर गराउने कोशिष गरिरहेको उहाँले उल्लेख गर्नुभयो । बृत्तचित्रका लागि ४ नम्वर वडामा पर्ने भोर्लेनीका मगर वस्तीका युवायुवतीहरु हुर्रा नाच्न जुटेका थिए । वडामा लोपोन्मुख वालन नाचका लागि क्षेत्री ब्राम्हण समुदाय जुटाउन नसकेको भन्दै वडाअध्यक्ष पाण्डेले दुःख व्यक्त गर्नुभयो ।

गाउँपालिकाको वर्तमान वस्तुस्थिती उतार्न बृत्तचित्र निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष लिला निरौलाले सुनाउनुभयो । बृत्तचित्रमा आर्थिक, सामाजिक, सांस्स्कृतिक, भौगोलिक लगायत समग्र पक्षलाई समेटिने गाउँपालिकाले उल्लेख गरेको छ ।

बृत्तचित्र निर्माणको काम अन्तिम चरणमा पुगेको हलेसी न्युज नेटवर्कका सञ्चालक हरिवोल आचार्यको भनाई छ । ,

प्रतिक्रिया दिनुहोस्