मुगुमा क्षयरोगीको संख्या बढ्दो



मुगु, (नेस) ।

हिमाली जिल्ला मुगुमा गत वर्षभन्दा यस वर्ष क्षयरोगीको संख्या बढेको छ ।गत वर्षको तथ्यांकअनुसार जिल्लाभरि ५१ जना क्षयरोगीको संख्या थियो भने चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १६ जना क्षयरोगी देखापरेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ ।गत वर्षभन्दा यो वर्ष मुगुमा क्षयरोगीको संख्या बढ्ने देखिएको जिल्ला अस्पताल मुगुका क्षयरोग तथा कुष्ठ रोग उपचारका फोकल पर्सन ज्ञानसिंह बुढाले जानकारी दिनुभयो ।

क्षयरोग विश्वमा उच्च मृत्युदर भएका १० वटा मध्येमा पर्छ । यो रोगबाट बच्न नेपाल सरकारले सन् १९८५ देखि नेपालमा डट्स नीति अवलम्बन गर्दै आए पनि मुगुमा क्षयरोगीको संख्या बढिरहेको छ ।क्षयरोगीको संख्या बढिरहे पनि सरकारले बिरामीका लागि औषधी निःशुल्क उपलब्ध गराएकाले रोग पहिचान भइसकेकाले नियमित औषधी सेवन गरे निको हुने फोकल पर्सन बुढा बताउनुहुन्छ ।घरमा लामो समय बिरामी भएको थिएँ । जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्दा क्षयरोग देखियो । हिजोआज नियमित औषधी खाँदा केही ठीक भएको छ ।

सरकारबाट निःशुल्क औषधी पाउँदा हामी गरिबका लागि सहज भएको छ । छायानाथ रारा नगरपालिका–१२ का देवीचन्द्र बुढाले भन्नुभयो । मुगुका ४ स्थानमा क्षयरोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराइँदै आएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्