मेडिसिटीमा प्राथमिक उपचार प्रशिक्षण शुरु



काठमाडौं, (नेस) ।

नेसनल हेल्थ ट्रेनिङ सेन्टर र निक् साइमन्स् इन्स्टिच्युटको संयुक्त आयोजनामा नेपाल मेडिसिटी अस्पतालमा ६ दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

भैंसेपाटीस्थित नेपाल मेडिसिटीमा शुरु भएको प्रशिक्षण कार्यक्रममा चिकित्सक, नर्स, पारामेडिक्सलगायतका स्वास्थ्यकर्मी सहभागी रहेको प्रमुख प्रशिक्षक डा. रोशना श्रेष्ठले जानकारी गराउनुभएको छ । एक व्यक्तिले मात्र नभई दक्षता प्राप्त गरेको समूहले नै उपचार गर्दा बिरामीहरुले उत्कृष्ट उपचार प्राप्त गर्न सक्ने भएकाले यस किसिमको आकस्मिक अवस्थामा आवश्यक पर्ने प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रका फरक–फरक विज्ञहरुले प्रदान गर्ने प्रशिक्षण कार्यक्रमले मुख्यतः आकस्मिक मुटु समस्या, दुर्घटना, स्वासप्रश्वासमा समस्यालगायतको अवस्थामा प्रारम्भिक चरणमा के–कस्ता उपचार प्रक्रियामा ध्यान दिने जस्ता विषयलाई समेट्नेछ ।राष्ट्रियस्तरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमबाट सहभागी नर्स तथा पारामेडिक्सहरुले आकस्मिक उपचारमा अपनाउनुपर्ने नवीन सीप र जानकारी प्राप्त गर्नेे अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एन्ड एडुकेसन डा. नीलमणि उपाध्यायले जानकारी गराउनुभएको छ ।

उक्त तालिमका मोडुअलमा करेन्ट लागेर आउने बिरामीहरुको उपचारका विधिहरुलाई पनि समावेश गरेको खण्डमा राम्रो हुनेसमेत उहाँले बताउनुभयो ।तालिममा काठमाडौं, भरतपुर, झापा, तेर्हथुम, भोजपुर, मोरङ, लहान, सिरहा, नुवाकोट, जाजरकोट, डोटी, बाजुरा, स्याङ्जालगायतका स्थानबाट सहभागीहरुको उपस्थिति रहेको छ ।
आइतबारबाट शुरु भएको प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ ।
हेरेको छैन

प्रतिक्रिया दिनुहोस्