काठमाडौँ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न प्रा. डा. गोविन्द केसीले माग गरेका छन्। सरकारले सहमतिअनुसार काम नगरे स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी उनले दिएका छन्।
डा. केसीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई सहमति कार्यान्वयन गर्न पुनः ध्यानाकर्षण गराएका हुन्।
उनका अनुसार चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राख्दै गरिएको २४औँ सत्याग्रहसहितको आन्दोलन गत साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमतिपछि स्थगित भएको थियो।
तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत नागरिकको स्वास्थ्यमा असर पर्ने निर्णय गरेको उनको आरोप छ।
त्यसको विरोध तथा पुराना सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको माग गर्दै गरिएको २५औँ सत्याग्रहसहितको नौदिने आन्दोलन गत कात्तिक २१ गते शिक्षा मन्त्रीसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित गरिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
सरकारले दुई साताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका सहमतिका बुँदा अझै पूरा नगरेको डा. केसीको भनाइ छ। सहमतिपछि तिहार र छठको सार्वजनिक बिदा परेकाले सरकारलाई कार्यान्वयनका लागि केही दिन थप समय दिएको उनले बताएका छन्।
अब पनि सहमति कार्यान्वयन नभए वा सहमतिविपरीतका गतिविधि भए आन्दोलन पुनः सुरु गर्न बाध्य हुने उनले चेतावनी दिएका छन्। त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ।
जनताको स्वास्थ्य र शिक्षासँग जोडिएका विषयमा सरकार आफ्नो प्रतिबद्धताबाट पछि हट्न नमिल्ने उल्लेख गर्दै डा. केसीले सहमति कार्यान्वयन गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व भएको बताएका छन्।








तपाईंको विचार लेख्नुहोस्