उपचारका क्रममा गर्भवती महिलाको मृत्यु, बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड


सर्लाही।

सर्लाहीको बरहथवा नगर अस्पतालमा उपचाररत गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा स्थानीयले अस्पतालको आकस्मिक कक्षमा आगजनी र तोडफोड गरेका छन्। घटनामा अस्पतालको भौतिक संरचना तथा उपकरणमा क्षति पुगेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ भने दुई जना फरार छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बरहथवा नगरपालिका–५ हातीडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएको हो। नौ महिनाकी गर्भवती रहेकी उनी तीन दिनदेखि बिरामी भएपछि बरहथवा नगर अस्पतालमा उपचाररत थिइन्।

मंसिर ६ गते साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएको र चिकित्सकको लापरबाहीका कारण यस्तो अवस्था आएको भन्दै आफन्तहरू आक्रोशित बनेका थिए। त्यसपछि उनीहरूले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै विभिन्न सामान तोडफोड गरेका थिए।

घटनाबारे राति करिब १०ः३० बजे अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक किरण लामाको नेतृत्वमा ३० जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक जीवन श्रेष्ठको नेतृत्वमा १८ जना तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सुन्दरपुर चौहर्वाबाट नौ जनाको टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मीको सहयोगमा अस्पतालमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगजनी र तोडफोडपछि थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पु¥याइएकी सीमा रामदेवीलाई चिकित्सकले राति १०ः५३ बजे मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा, २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनि महरा र २० वर्षीय राजन रामलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी, अस्पतालमै करारमा कार्यरत बरहथवा–५ निवासी ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा पेट्रोल छर्केर आगो लगाउने कार्यमा संलग्न रहेको आरोपमा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ।

अस्पतालका सूचना अधिकारी राजेश गुप्ता तथा चिकित्सक राकेश यादवसँगको समन्वयमा आगजनी र तोडफोडबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनापछि अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ। मंसिर ७ गते बिहान ६ः१५ बजेसम्म अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस घटनाले उपचारमा चिकित्सकीय लापरबाही भएको हो वा होइन भन्ने विषयमा गम्भीर प्रश्न उठाएको छ। महिलाको मृत्युको वास्तविक कारण पोस्टमार्टम तथा आवश्यक अनुसन्धानबाट खुल्नेछ भने अस्पतालमा आगजनी र तोडफोड भएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।