शान्ति सम्झौताको २० वर्षपछि पनि दण्डहीनता कायम, जेनजी हत्यामा कारबाही गर्न माग


१३०० बेपत्ता उजुरीमा एउटै अनुसन्धान टुङ्गिएन, ७६ जेनजी आन्दोलनकारीको मृत्यु र २३०० भन्दा बढी घाइते भएको घटनामा दोषीमाथि अभियोजन सुरु नभएको एड्भोकेसी फोरमको प्रतिवेदन

काठमाडौं।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको २० वर्ष बितिसक्दा पनि नेपालमा गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा जवाफदेहिता सुनिश्चित हुन नसकेको भन्दै एड्भोकेसी फोरम–नेपालले दण्डहीनता अन्त्य गर्न तत्काल कानुनी तथा संस्थागत सुधार गर्न सरकारसँग माग गरेको छ। सशस्त्र द्वन्द्व अन्त्य गरी मानवअधिकार र लोकतन्त्रमा आधारित नयाँ युग निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिए पनि लगातारका सरकारले विधिको शासन कायम गर्न र पीडितलाई न्याय दिन नसकेको फोरमको निष्कर्ष छ।

फोरमले नोभेम्बर २०२६ मा सार्वजनिक गरेको ‘दण्डहीनताको खाडल बन्द गरौँ : विस्तृत शान्ति सम्झौताको २० वर्षपछि नेपालको विधिको शासन र जवाफदेहिता’ शीर्षकको प्रतिवेदनमा दुई दशकदेखि जारी मानवअधिकार उल्लङ्घन, राजनीतिक हस्तक्षेप र राज्यका निकायको संस्थागत कमजोरीले न्याय प्रणाली कमजोर बनाएको उल्लेख छ। प्रतिवेदनले १९९६ देखि २००६ सम्मको सशस्त्र द्वन्द्वअघि, द्वन्द्वका क्रममा र त्यसपछिका अवधिमा भएका बेपत्ता, गैरन्यायिक हत्या, यातना, बलात्कार तथा अत्यधिक बल प्रयोगका घटनाको अध्ययन गरेको छ।

प्रतिवेदनअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग स्थापना भएको लामो समय बितिसक्दा पनि पीडितले सत्य र न्याय पाउन सकेका छैनन्। सन् २०१४ मा मूल कानुन बनेपछि दुवै आयोगले एउटै घटनाको अनुसन्धानसमेत टुङ्ग्याउन सकेका छैनन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा करिब एक हजार ३०० उजुरी परे पनि एउटा मुद्दासमेत थप अनुसन्धान वा अभियोजनका लागि सिफारिस हुन सकेको छैन।
फोरमले सङ्क्रमणकालीन न्यायलाई फौजदारी जवाफदेहिता अनिश्चितकालसम्म पन्छाउने बहाना बनाउन नहुने जनाएको छ। पीडितलाई आश्वासन दोहो¥याउनुको सट्टा सत्य, न्याय र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उसको माग छ।

प्रतिवेदनमा नेपाली सेनाको हिरासतमा १५ वर्षीया मैना सुनुवारमाथि यातना दिई हत्या गरिएको घटना, हरिप्रसाद बोलाखेको बेपत्ता तथा हत्या, पत्रकार डेकेन्द्र थापाको हत्या र अर्जुन लामाको बेपत्ता तथा हत्या प्रकरणलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। सन् २०२३ मा सङ्खुवासभा जिल्ला कारागारमा कैदीबन्दी विनोद तोलाङ्गी र आकाश बलामीको मृत्यु भएको घटनामा सन् २०२६ जुनमा पाँच प्रहरी कर्मचारी, दुई कारागार सुरक्षाकर्मी र आठ कैदीबन्दी दोषी ठहर भएको भए पनि यस्ता कारबाही अपवादका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ।

बाल सुधारगृहमा गरिएको एक हजार ३७० बालबालिका सहभागी सर्वेक्षणमा ३२८ जना अर्थात् २४ प्रतिशतले यातना भोगेको बताएका थिए। तर, तीमध्ये कुनै पनि घटना अदालतसम्म पुगेको जानकारी नरहेको फोरमले जनाएको छ।

प्रतिवेदनले सन् २०२५ सेप्टेम्बरको जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोली प्रहारबाट कम्तीमा ७६ जनाको मृत्यु र दुई हजार ३०० भन्दा बढी घाइते भएको उल्लेख गरेको छ। मृतकमध्ये केही विद्यालयका विद्यार्थीसमेत थिए। कार्की आयोग र राष्ट्रिय मानवअधिकार आयोगले अत्यधिक बल प्रयोगमा संलग्न राजनीतिज्ञ, उच्च सरकारी अधिकारी तथा प्रहरीमाथि कारबाही गर्न सिफारिस गरे पनि प्रतिवेदन तयार हुँदासम्म अभियोजन सक्रिय रूपमा अघि बढेको थिएन। अर्कोतर्फ, एक हजार ७७८ आन्दोलनकारीविरुद्ध ४४५ मुद्दा अघि बढिरहेको फोरमले जनाएको छ।

फोरमले प्रहरीद्वारा उजुरी दर्ता गर्न अस्वीकार गरिने, केही घटनामा ३५ दिने हदम्याद, अनुसन्धान तथा न्यायिक नियुक्तिमा राजनीतिक हस्तक्षेप, अदालतका आदेश कार्यान्वयन नहुने र पीडित तथा साक्षी संरक्षण कमजोर रहने अवस्थालाई न्यायका प्रमुख अवरोध मानेको छ।

दण्डहीनता अन्त्यका लागि स्वतन्त्र राष्ट्रिय प्रहरी आयोग र प्रहरी उजुरी प्राधिकरण स्थापना, स्वतन्त्र अभियोजन सेवा, ३५ दिने हदम्याद खारेज, कमान्ड जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था, पीडित तथा साक्षी संरक्षण र राष्ट्रिय मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन गर्न फोरमले सरकारसँग माग गरेको छ। जेनजी आन्दोलनसम्बन्धी कार्की आयोग र मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन गर्न तथा मल्लिक, रायमाझी र लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।

“शान्ति प्रक्रियाको वास्तविक मापन द्वन्द्वको अन्त्य मात्र होइन, पीडितले न्याय पाउनु र कानुन सबैलाई समान रूपमा लागू हुनु हो,” फोरमले भनेको छ। २० वर्षसम्म प्रतीक्षा गरिसकेकाले अब दण्डहीनताको खाडल बन्द गर्न स्पष्ट समयसीमासहितको कार्ययोजना सार्वजनिक गर्न सरकारसँग उसले माग गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।