आर्थिक संकट केही समयसम्म देखिन सक्छ:महाप्रसाद अधिकारी



काठमाडौं, (नेस)  ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभएको छ । एलाइन्स फर फाइनान्सियल इन्सिच्युसन (एएफआई) द्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले उक्त धारणा राख्नुभएको हो ।

उहाँले कसैको एक्लो प्रयासबाट मात्रै महामारीले निम्त्याएको संकटलाई सम्बोधन गर्न सम्भव छैन । समावेशी र दिगो आर्थिक पुनरुत्थानको निम्ति सरोकारवाला सबै पक्षको पहल आवश्यक छ । सामूहिक समर्पणको भावनाबाट मात्रै त्यो सम्भव देखिने बताउनुभयो । कोभिड–१९ द्वारा सिर्जित संकटको नकारात्मक प्रभाव केही समयसम्म देखिन सक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसबाट अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्नका निम्ति प्रभावकारी र व्यावहारिक कार्यदिशा अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । बितेकोएक वर्षमा सामूहिक नीति र नियामकीय अभ्यासले कतिपय जोखिमको न्यूनीकरणमा महत्वपूर्ण भूमिका निभाएको उहाँको धारणा थियो । उहाँले भन्नुभयो–‘यो अवधिमा हामीले समाजको सर्वाधिक जोखिममा रहेका वर्गको संरक्षणका निम्ति केही प्रयास गरेका छौं । यसलाई अझ प्रभावकारिताका साथ निरन्तरता दिन आवश्यक छ ।’

गभर्नर अधिकारीले नेपालको पर्यटनसँगै लघु, साना र मझौला उद्यम-व्यवसाय बढी प्रभावित बनेको धारणा राख्नुभयो । यसलाई सम्बोधन गर्न नियामक निकायको हैसियतमा नेपाल राष्ट्र बैंकले सहजीकरणको निम्ति विभिन्न नीतिगत व्यवस्था अवलम्बन गरेको जानकारी दिनुभयो । कोभिडबाट प्रभावित व्यवसायलाई राहतस्वरूप बैंक तथा वित्तीय संस्थामार्पत पुर्नकर्जा सुविधा उपलब्ध गराइएको र सो अवधिमा विद्युतीय माध्यममार्पत हुने भुक्तानी कारोबारलाई प्रवद्र्धन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा गभर्नर अधिकारीले महिला, विपन्न, अदक्ष श्रमिक, लघु तथा साना उद्यमी र त्यहाँ काम गर्ने श्रमिकको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पुग्ने गरी नीतिगत व्यवस्था अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । सदस्य मुलुकमा अवलम्बन भएका नीतिगत र कार्यगत अभ्यासको अनुभव आदानप्रदानमा उक्त बैठक फलदायी हुने विश्वाससमेत उहाँले व्यक्तगर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्