समाचारमा समाज रुपान्तरणको विषय आवश्यक



चिरञ्जीवी मास्के, काठमाडौं  ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार महासंघले सधैं सरकारको प्रतिपक्षको भूमिका खेल्नुपर्ने अवस्थाको अन्त्य भएको दाबी गर्नुभएको छ ।नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २२औं साधारणसभाको उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले आफू सञ्चार तथा सूचना प्रविधि मन्त्री भएर आएपछि पत्रकारहरुले विगतदेखि नै उठाउँदै आएका कतिपय मागहरु आफूले सम्बोधनको प्रयास गरेको उल्लेख गर्नुहुँदै त्यसैको कारण पनि महासंघ र सरकारबीचको दूरी कम भएको बताउनुभयो ।

श्रमजीवी पत्रकारहरुको समस्या, पत्रकार महासंघको संस्थागत विषयहरुको विषयमा आफू जानकार भएको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले त्यस्ता विषयहरु पत्रकार महासंघले मागका रुपमा प्रस्तुत गर्नुअघि नै आफूले समाधानको प्रयत्न गरेको बताउनुभयो ।पत्रकारहरुले समाजलाई द्वन्द्व, अराजकतातर्फ लैजाने खालका नभई समाज रुपान्तरण गर्ने खालका समाचारलाई प्राथामिकता दिनुपर्ने बताउनुभयो । सरकारको लक्ष्य समाजलाई द्वन्द्व र अराजकतातर्फ लैजाने नभई समाज रुपान्तरणको अभियानमा पत्रकारहरुलाई साथ दिने नै रहेको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले आगामी बजेट निर्माणका लागि पत्रकार महासंघको टिमसँग संस्थागतरुपमा सल्लाह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले नकारात्मक कुरालाई अनावश्यक ढङ्गले उछाल्ने पत्रकारहरुको प्रशंसा हुने र पुरस्कृत हुने परिपाटीको अन्त्य र सकारात्मक विषयलाई प्राथामिकता दिने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो ।मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारहरुबाट विरोध हुने खालका काम नगरेको दाबी गर्नुहुँदै प्रेस पास नवीकरण, अनलाइन नवीकरणजस्ता विषयलाई जिल्लाबाटै हुने गरी काम अगाडि बढाइएको बताउनुभयो । राजधानीका मात्र नभई मोफसलमा रहेर पत्रकारिता गर्दै आउनुभएका पत्रकारहरुको हितका लागि समेत मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

मन्त्री गुरुङले पत्रकार कल्याणकारी कोषमा अहिले ५ करोड रहेको र त्यसलाई आगामी वर्ष ५ करोड थप गरी १० करोडको पु¥याएर नयाँ कार्यविधिसहित पत्रकाररुको सुरक्षामा खर्च गर्ने व्यवस्था गर्ने घोषणा पनि गर्नुभयो ।नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्ताराम विडारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामनारायण विडारी, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, राजेन्द्र स्थापित, निर्मला शर्मालगायतलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्